
पोखरा । गण्डकी प्रदेश सभाको बिहीबार बसेको बैठकको शून्य समयमा प्रदेश सभा सदस्यहरूले बाढी-पहिरोबाट भएको क्षति, सडक दुर्घटना, स्वास्थ्य सेवा, समावेशीकरण, वातावरण संरक्षण र सुशासनलगायत जनसरोकारका विषय उठाउँदै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
बैठकमा सांसद कल्पना तिवारीले स्याङ्जाको वालिङ नगर अस्पताललाई २५ शय्यामा स्तरोन्नति गर्ने सरकारको निर्णय कार्यान्वयनको अवस्था सार्वजनिक गर्न माग गरिन्। कुसुम बुढा पुनले बागलुङमा गाँजा र भाङ छुट्याउन नसकी प्रहरीले किसानमाथि अनावश्यक कारबाही गरेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन्।
जितप्रकाश आले मगरले मापदण्डविपरीत सञ्चालन भएका क्रसर उद्योगका कारण नदी प्रदूषित भएको र जलचर नष्ट भइरहेको भन्दै कडा अनुगमन र नियन्त्रणको माग गरे। दमयन्ती रुचालले राज्यका विभिन्न निकायमा महिला तथा दलित समुदायको प्रतिनिधित्व अझै न्यून रहेको तथ्यांक प्रस्तुत गर्दै संविधानको मर्मअनुसार वास्तविक समावेशीकरण सुनिश्चित गर्न सरकारलाई आग्रह गरिन्।
अन्नपूर्ण गाउँपालिका-११ घान्द्रुकको बन्ठाँटी क्षेत्रमा गएको पहिरोले होटल, पुल र पर्यटकीय पदमार्गमा ठूलो क्षति पुर्याएको भन्दै देवका पहारी त्रिपाठी र प्रकाश बरालले पीडितलाई राहत, क्षतिपूर्ति तथा पदमार्गको तत्काल मर्मत गर्न माग गरे। उनीहरूका अनुसार पहिरोबाट करिब दुई करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ।
सडक सुरक्षाको विषय पनि प्रदेश सभामा प्रमुख रूपमा उठ्यो। नन्दकला दमाइ नेपालीले पृथ्वीचोकदेखि लेखनाथसम्मको सडक निर्माण अधुरो रहँदा र जेब्रा क्रसिङको अभावका कारण दुर्घटना बढिरहेको बताइन्।
विन्दु पौडेलले नवलपुरलाई दुर्घटनाग्रस्त क्षेत्र बन्न नदिन प्रभावकारी उपाय अपनाउन आग्रह गरिन् भने श्यामराजा महतले कोत्रेदेखि दमौली सडकखण्डमा आकाशे पुल, अन्डरपास निर्माण र ट्राफिक सचेतना अभियान सञ्चालन गर्न सरकारसँग माग गरे। सांसदहरूले जनजीवनसँग प्रत्यक्ष जोडिएका यी विषयमा तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गर्दै विकास, सुरक्षा र सुशासनका क्षेत्रमा ठोस परिणाम देखिनुपर्नेमा जोड दिएका छन्।
