
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत भर्खरै सकिएको क्वार्टरफाइनल खेलमा बेल्जियमलाई पराजित गर्दै स्पेन विजयी भएको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा सम्पन्न खेलमा बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेन विजयी भएको हो ।
यो जितसँगै स्पेन जारी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । खेलमा दुवै टोलीले पहिलो हाफमा एकएक गोलको बराबरी खेलेका थिए ।
एक गोलले पछि परेको ११ मिनेटपछि बेल्जियमले बराबरी गोल फर्काएको थियो । खेलको ३०औँ मिनेटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए ।
बेल्जियमका चाल्र्स डे केटलेरले ४१औँ मिनेटमा बराबरी गोल फर्काए। उनले टिमोथी कास्टाग्नेको असिस्टमा हेडरमार्फत आकर्षक गोल गरे। खेलको ८८ औँ मिनेटमा स्पेनका मिकेल मेरिनोले जितका लागि निर्णायक गोल गरे।
