नवनियुक्त अध्यक्ष श्रेष्ठले सम्हाले कार्यभार, एआईमैत्री प्रेस काउन्सिलमा जोड

160
0
Share:

काठमाडौं । प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष उमेश श्रेष्ठले सोमबारदेखि औपचारिक रूपमा कार्यभार सम्हाल्दै कृत्रिम बुद्धिमत्ता (एआई) र सामाजिक सञ्जालको तीव्र विस्तारसँगै प्रेस काउन्सिलको भूमिका पनि समयअनुकूल परिवर्तन हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।

कार्यभार सम्हाल्नुअघि काउन्सिल सदस्यहरूको उपस्थितिमा शपथ ग्रहण गरेका अध्यक्ष श्रेष्ठले पदबहालीपछि प्रेस स्वतन्त्रताको संरक्षण काउन्सिलको प्रमुख दायित्व भएको उल्लेख गर्दै निष्पक्ष र दबाबमुक्त रूपमा पत्रकारिता क्षेत्र र सरकारबीच विश्वासको पुल बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले काउन्सिलका कर्मचारीका समस्या समाधानलाई पनि प्राथमिकतामा राखेर अघि बढ्ने स्पष्ट पारे । नवनियुक्त अध्यक्ष श्रेष्ठलाई काउन्सिल सदस्य निर्मला शर्मा, सदस्यसचिव छबीन्द्र पराजुली, मुख्य अधिकृत झबिन्द्र भुसालसहित कर्मचारी तथा सञ्चारकर्मीहरूले स्वागत गरेका थिए।

सरकारले सूचना तथा सञ्चार मन्त्रालयको सिफारिसमा गत असार २४ गतेको मन्त्रिपरिषद् बैठकबाट श्रेष्ठलाई प्रेस काउन्सिल नेपालको अध्यक्षमा मनोनयन गरेको थियो। नेपाली डिजिटल पत्रकारिताका अग्रणी व्यक्तित्वका रूपमा परिचित श्रेष्ठ नेपालकै पहिलो युनिकोड ब्लग ‘माइसंसार डटकम’ का संस्थापक तथा ‘नेपाल फ्याक्टचेक’ का सम्पादक भइसकेका छन् । सञ्चार क्षेत्रमा ‘सालोक्य’ उपनामले परिचित उनीसँग छापा, टेलिभिजन, अनलाइन र डिजिटल पत्रकारितामा दुई दशकभन्दा बढीको अनुभव छ ।

आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर श्रेष्ठले नयाँ सडक दैनिक, स्पेसटाइम दैनिक, सिटी टाइम्स, च्यानल नेपाल, एभिन्युज टेलिभिजन, नागरिकन्युज, अन्नपूर्णपोस्ट डटकम र पहिलोपोस्ट डटकमलगायत विभिन्न सञ्चारमाध्यममा कार्यअनुभव हासिल गरेका छन् । उनी सेन्टर फर मिडिया रिसर्च (सीएमआर) नेपालका संस्थापक सदस्यसमेत हुन् । तथ्याङ्क पत्रकारिता, फ्याक्ट-चेकिङ र डिजिटल सुरक्षासम्बन्धी तालिममा प्रशिक्षकका रूपमा पनि उनी सक्रिय रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: