मोदी खोलाको बाढीपछि घान्द्रुक सडक एकतर्फी सञ्चालन, पर्यटक सकुशल उद्धार

Share:

पोखरा । अविरल वर्षासँगै मोदी खोलामा आएको बाढी र पहिरोका कारण अवरुद्ध बनेको नयाँपुल-वीरेठाँटी-घान्द्रुक सडक खण्ड सोमबार दिउँसोदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। अन्नपूर्ण गाउँपालिका-८ स्याउलीबजार क्षेत्रमा पहिरो हटाई वैकल्पिक मार्ग निर्माण गरेपछि सडकमा पुनः सवारी सञ्चालन गरिएको हो।

जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार गाउँपालिका, सुरक्षा निकाय र स्थानीयवासीको समन्वयमा डोजर प्रयोग गरी सडक खुलाइएको हो। सडक अवरुद्ध हुँदा बाटोमै रोकिएका ३ बस, १३ जिप/कार/भ्यान, ७ मोटरसाइकल र ४ ट्याक्सीसहित २७ वटा सवारीसाधन तथा घान्द्रुक क्षेत्रमा रोकिएका पर्यटकलाई सकुशल गन्तव्यतर्फ पठाइएको छ।

बाढीले स्याउलीबजारमा ठूलो भौतिक क्षति पुर्‍याएको छ। दिलीप गुरुङको रेष्टुरेन्ट पूर्ण रूपमा बगाएको छ भने जगन पुनको रेष्टुरेन्टमा आंशिक क्षति पुगेको छ। केही अन्य घरमा पनि बाढी पस्दा लाखौं रुपैयाँ बराबरको क्षति भएको प्रशासनले जनाएको छ।

यता, वीरेठाँटी बजार पनि उच्च जोखिममा रहेको प्रशासनको भनाइ छ। मोदी खोलाको बहाव निरन्तर बढिरहेकाले वर्षा नरोकिए थप क्षति हुन सक्ने चेतावनी दिइएको छ। खोलाको बाढीले यस क्षेत्रमा सञ्चालित जलविद्युत् आयोजनामा समेत प्रभाव पारेको छ।

अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङका अनुसार जनप्रतिनिधि, सुरक्षा निकाय, उपल्लो मोदी हाइड्रो कम्पनी, एक्याप र स्थानीय समुदाय प्रभावित क्षेत्रमा उद्धार तथा जोखिम न्यूनीकरणका काममा सक्रिय छन्। उनले निरन्तर वर्षा भइरहेकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान र रातिको समयमा अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

यसअघि आइतबार किम्रुङ खोलामा आएको बाढीले अन्नपूर्ण पदमार्गको झोलुंगे पुल बगाएको थियो भने वनठाँटी क्षेत्रमा पहिरोले दुई होटल, पक्की पुल र पदमार्गमा समेत क्षति पुर्‍याएको थियो।

यता सोमबार दिउँसो मादी गाउँपालिका-३ याङ्जाकोटसहित कास्कीका विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहेकाले जिल्ला प्रशासन कार्यालयले बाढी-पहिरोको जोखिमप्रति उच्च सतर्कता अपनाउन र कुनै पनि विपद् घटना भए तत्काल सूचना दिन सर्वसाधारणसँग अनुरोध गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: