
पोखरा । पोखरा महानगरपालिका-२५, हेम्जाका युवा व्यवसायी बाबुराम दाहालको नेतृत्वमा स्थापना गरिएको ‘बेस्ट माउन्टेन भ्यू टुर्स एण्ड ट्राभल्स’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। स्थानीय स्तरबाट सुरु भएको यस ट्राभल्सले सुरक्षित, सहज र भरपर्दो यात्रा सेवा प्रदान गर्दै पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्रमा योगदान पुर्याउने लक्ष्य लिएको जनाएको छ।
ट्राभल्सको उद्घाटन कार्यक्रममा पृथ्वी राजमार्ग बस कम्पनी प्रालिका सञ्चालक तथा कोहिली टुर्स एण्ड ट्राभल्सका अध्यक्ष मेघराज त्रिपाठी प्रमुख अतिथि रहेका थिए। उनले गुणस्तरीय यातायात सेवा पर्यटन उद्योगको मेरुदण्ड भएको उल्लेख गर्दै नयाँ ट्राभल्सले यात्रु सेवाको स्तर उकास्नुका साथै पर्यटन विस्तार र रोजगारी सिर्जनामा टेवा पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा धवलागिरि-गण्डकी यातायात सेवा प्रालिका प्रबन्ध निर्देशक राजन जोशी, राष्ट्रिय स्वतन्त्र पार्टी हेम्जा-२५ का सभापति भरतराज अधिकारी, पृथ्वी राजमार्ग बस सञ्चालक समितिका कार्यालय प्रमुख ज्ञानेन्द्रकुमार थापा लगायतले शुभकामना व्यक्त गर्दै व्यवसायको सफलताको कामना गरेका थिए।
त्यसैगरी नेकपा हेम्जा-२५ का अध्यक्ष महादेव अधिकारी, टोल विकास समन्वय समिति-२५ का अध्यक्ष दीपकबहादुर थापा, पृथ्वी राजमार्ग बस सञ्चालक समितिका पूर्व पदाधिकारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, सामाजिक अगुवा तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा ट्राभल्सका व्यवस्थापक झलकराज अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सञ्चालन क्लासिक बेक हाउस हेम्जाका सञ्चालक कपिलराज दाहालले गरेका थिए।
नवनिर्मित ट्राभल्सले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट, देशभरका बस टिकट बुकिङ, तथा सुरक्षित र व्यवस्थित यात्रा व्यवस्थापन सेवा एकै स्थानबाट उपलब्ध गराउने जनाएको छ। यात्रुको आवश्यकतालाई ध्यानमा राखेर गुणस्तरीय सेवा दिने प्रतिबद्धता सञ्चालक पक्षले जनाएको छ।
कार्यक्रमका वक्ताहरूले यातायात सेवा केवल आवागमनको माध्यम मात्र नभई पर्यटन, व्यापार, शिक्षा, स्वास्थ्य र समग्र आर्थिक गतिविधिको आधार भएको उल्लेख गर्दै हेम्जाबाट सुरु भएको ‘बेस्ट माउन्टेन भ्यू टुर्स एण्ड ट्राभल्स’ ले स्थानीयदेखि राष्ट्रिय स्तरसम्म यात्रु सेवा विस्तार गर्दै पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरेका छन्।
