
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियान अन्तर्गत थप १८ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ।
प्रहरीका अनुसार साउन ६ गते राति पोखरा महानगरपालिका अन्तर्गत विभिन्न स्थानमा गरिएको विशेष चेकजाँचका क्रममा स्वरूप परिवर्तन गरी अत्यधिक ध्वनि प्रदूषण गर्ने मोटरसाइकलहरू नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको हो।
अभियान अन्तर्गत वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले लेकसाइड, ड्यामसाइड, बिरौटा र छोरेपाटन क्षेत्रबाट ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ भने वडा प्रहरी कार्यालय बगरबाट परिचालित टोलीले बाग्लुङ बसपार्क र हरिचोक क्षेत्रबाट थप ७ वटा मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ‘अप्रेसन ३६५’ अभियान सुरु भएयता हालसम्म स्वरूप परिवर्तन, ध्वनि प्रदूषण तथा अन्य नियम उल्लंघन गर्ने ७४० वटा सवारी साधन र ३६ जना व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको छ।
प्रहरीले यस्ता अभियानलाई निरन्तरता दिँदै ट्राफिक अनुशासन कायम गर्न र ध्वनि प्रदूषण नियन्त्रण गर्न नियमित अनुगमन तथा चेकजाँच जारी रहने जनाएको छ।
