
पोखरा । कास्की प्रहरीले अवैध रूपमा प्राकृतिक स्रोत दोहनमा संलग्न एक स्काभेटर र तीन वटा टिप्पर नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार साउन ७ गते दिउँसो करिब २:३० बजे पोखरा महानगरपालिका–२६ विजयपुर क्षेत्रमा अवैध रूपमा माटो उत्खनन भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले माटो लोड गरिरहेको अवस्थामा एक स्काभेटर र तीन टिप्पर नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कारबाहीका लागि पोखरा महानगरपालिकाको कार्यालयमा बुझाइएको थियो। महानगरपालिकाले अवैध प्राकृतिक दोहनमा संलग्न रहेको ठहर गर्दै सम्बन्धित पक्षलाई ७५ हजार जरिवाना गरी सवारीसाधन छाडिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
प्रहरीका अनुसार नियन्त्रणमा परेका सवारीसाधनमा ग १ क ३७८८ नम्बरको स्काभेटर, ग १ ख ७७६६ नम्बरको टिप्पर, बा १ क ८१७७ नम्बरको टिप्पर तथा लु १ ख २९२० नम्बरको टिप्पर रहेका छन्। प्रहरीले प्राकृतिक स्रोतको अवैध दोहन नियन्त्रणका लागि निगरानी र अनुगमनलाई निरन्तरता दिइने जनाएको छ।

