रारा पोखरा स्पोर्ट्स अवार्डबाट ७ लाख १ हजार बचत

Share:

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोर्ट्स अवार्ड-२०८२ बाट ७ लाख १ हजार ४१८ बचत भएको जनाएको छ। मञ्चले आइतबार आयोजित अवार्डको आय-व्यय सार्वजनिक तथा समीक्षात्मक छलफल कार्यक्रममा आर्थिक विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।

सार्वजनिक विवरणअनुसार अवार्ड कार्यक्रमका लागि रु ३४ लाख ५ हजार ९३८ आम्दानी भएको थियो भने रु २७ लाख ४ हजार ५२० खर्च भएपछि रु ७ लाख १ हजार ४१८ बचत भएको हो।

गत वैशाख ३१ गते पोखरा-६ स्थित पोखरा इभेन्ट सेन्टरमा सम्पन्न अवार्ड कार्यक्रमको मुख्य प्रायोजन हिमश्री फुड्स प्रालिको ‘रारा तयारी चाउचाउ’ ले गरेको थियो। सह-प्रायोजकका रूपमा गुरुङ गहना घर प्रालि र केल्मे नेपाल रहेका थिए।

मञ्चका कोषाध्यक्ष विमल तिवारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद्, विभिन्न स्थानीय तह, खेल संस्था, व्यावसायिक प्रतिष्ठान तथा देश–विदेशमा रहेका खेलप्रेमीपूर्वखेलाडीहरूको आर्थिक सहयोगबाट कार्यक्रम सम्पन्न भएको हो।

खर्चतर्फ सबैभन्दा बढी पुरस्कार वितरणमा रु १० लाख ३७ हजार ४६० खर्च भएको छ। त्यसैगरी खाजा, खाना तथा आवासमा रु ६ लाख ९८ हजार ३६४, ट्रफी तथा ट्र्याकसुट खरिदमा रु ४ लाख २२ हजार, सांगीतिक कार्यक्रम सञ्चालनमा रु ४ लाख ५० हजार तथा अन्य शीर्षकमा खर्च गरिएको मञ्चले जनाएको छ।

मञ्चले अवार्ड सफल बनाउन सहयोग गर्ने सरकारी निकाय, स्थानीय तह, व्यावसायिक संस्था, खेल संस्था, खेलाडी, पूर्वखेलाडी तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर साथ र सहकार्यको अपेक्षा गरेको छ।

कार्यक्रममा मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थामगरले विगतका कमजोरीबाट पाठ सिक्दै संस्थाका गतिविधिलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले प्रविधिको विकाससँगै खेल पत्रकारिताको शैलीमा पनि सुधार आवश्यक रहेको बताए।

उनका अनुसार पोखरा स्पोर्ट्स अवार्डले राजधानी केन्द्रित ठूला कार्यक्रमको प्रभावलाई तोड्दै देशभर छुट्टै पहिचान बनाउन सफल भएको छ। “विगतका गल्ती र कमजोरी सुधार्दै अझ व्यवस्थित रूपमा अघि बढ्नु अहिलेको आवश्यकता हो,” उनले भने, “काठमाडौंमा मात्र भव्य कार्यक्रम हुन्छन् भन्ने धारणा पोखरा स्पोर्ट्स अवार्डले तोडेको छ र यसले देशकै प्रतिष्ठित अवार्डका रूपमा आफ्नो स्थान सुरक्षित गरेको छ।”

नेपाल पत्रकार महासंघ कास्कीका कार्यवाहक अध्यक्ष माधव रेग्मीले अवार्डलाई पोखराको विशिष्ट पहिचान तथा ‘ब्रान्ड’का रूपमा स्थापित गर्न सबै पक्षबीच सहकार्य र एकता आवश्यक रहेको बताए।

मञ्चका पूर्वअध्यक्ष केशव पाठकले अवार्डको सफलता र गरिमा कायम राख्न संस्थागत पारदर्शिता तथा नियमित समीक्षा अनिवार्य रहेको बताए। उनले हरेक वर्ष सार्वजनिक रूपमा आय–व्यय विवरण प्रस्तुत गर्ने परम्पराले सुशासन र जवाफदेहितालाई बल पुगेको उल्लेख गरे।

मञ्चका पूर्वअध्यक्ष एकराज गिरीले स्पोर्ट्स अवार्डलाई आगामी दिनमा अझ परिष्कृत र अपनत्वपूर्ण बनाउनुपर्नेमा जोड दिए। उनका अनुसार १०औँ संस्करणसम्म आइपुग्दा अवार्डले ठूलो आर्थिक कारोबार र प्रभाव स्थापित गर्न सफल भएको छ।

अवार्डका परिकल्पनाकार सन्देश श्रेष्ठले झण्डै रु ५ लाख बजेटबाट सुरु भएको अभियान अहिले रु ३५ लाख सम्मको आर्थिक परिचालन गर्न सक्ने अवस्थामा पुगेको भन्दै यसलाई गौरवको विषय बताए। अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सुरु भएको कार्यक्रम अहिले स्थापित ब्रान्ड बनेको उनको भनाइ थियो।

श्रेष्ठले बचत भएको रकम खेलकुद पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि तथा विश्लेषणात्मक समाचार लेखन सीप विकासमा लगानी गर्नुपर्ने सुझाव पनि दिए।

कमेन्ट गर्नुहोस्
Share: