
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिरहामा विकसित पछिल्लो घटनाक्रमलाई संवेदनशील रूपमा सम्बोधन गर्दै कोसी र मधेश प्रदेशका पार्टीका सांसदहरूलाई समन्वयकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्।
सभापति लामिछानेले बिहीबार कोसी तथा मधेश प्रदेशका सांसदहरूसँग गरेको अनौपचारिक छलफलमा सद्भाव अभिवृद्धि, सहिष्णुता प्रवर्द्धन र स्थानीय स्तरमा उत्पन्न परिस्थितिलाई सामान्य बनाउन सक्रिय रूपमा समन्वय गर्न आग्रह गरेका हुन्। उनले सबै पक्षसँग संवाद र सहकार्यलाई प्राथमिकता दिँदै शान्तिपूर्ण वातावरण कायम गर्न भूमिका खेल्न निर्देशन दिएका छन्।
रास्वपाका अनुसार छलफलमा सिरहाको पछिल्लो अवस्थाबारे समीक्षा गरिएको थियो भने स्थानीय समुदायबीच विश्वासको वातावरण निर्माण गर्न सांसदहरूले प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिइएको थियो।
यता, सरकारका तर्फबाट पनि घटनालाई गम्भीर रूपमा लिइएको छ। केहीबेरमै गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्य मन्त्री घटनास्थलतर्फ प्रस्थान गर्ने तयारीमा रहेका छन्। उनीहरूले स्थानीय अवस्था बुझ्नुका साथै सुरक्षा तथा आवश्यक सेवा व्यवस्थापनबारे सरोकारवालासँग छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ।
सिरहाको पछिल्लो घटनाक्रमलाई लिएर राजनीतिक तथा प्रशासनिक तहमा चासो बढिरहेका बेला सबै पक्षले संयमता अपनाउँदै शान्ति र सद्भाव कायम गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
