ज्येष्ठ नागरिक सेवा समाज नेपाल पोखरा-२७ को प्रथम साधारणसभा सम्पन्न

Share:

पोखरा । ज्येष्ठ नागरिक सेवा समाज नेपाल, पोखरा-२७ को प्रथम साधारणसभा शनिबार अर्घौं घरेलुचौरस्थित संस्थाको कार्यालयमा सम्पन्न भएको छ। अध्यक्ष राममणि भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा ज्येष्ठ नागरिकको सम्मान, अनुभव र योगदानको महत्वबारे वक्ताहरूले जोड दिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि तथा पोखरा महानगरपालिका-२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले ज्येष्ठ नागरिकहरू समाजका प्रेरणाका स्रोत भएकाले उनीहरूको अनुभवलाई भावी पुस्ताले आत्मसात गर्नुपर्ने बताए।

उनले स्वर्गीय हिरामणि सुवेदीको योगदानको स्मरण गर्दै संस्थाको भवन निर्माणमा सहयोग पुर्‍याउने सबै सहयोगीदाताप्रति आभार व्यक्त गरे। साधारणसभामा लेखनाथ उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष ध्रुवबाबु भट्टराई, अर्घौ सामाजिक सेवा संस्थाका अध्यक्ष मथुरा श्रेष्ठ, समाजसेवी नारायणमणि लामिछाने, ज्येष्ठ नागरिक सेवा समाज पोखरा-२६ का अध्यक्ष जगन्नाथ तिमिल्सेना, पोखरा-१४ का अध्यक्ष नवीन पौडेल, पोखरा-३० का अध्यक्ष तारानाथ पौडेल, पूर्व वडासदस्य शेखरनाथ लामिछाने, संस्थाका सल्लाहकारहरू प्रयागराज भण्डारी र रामनरेश यादव, विधान निर्माण समितिका अध्यक्ष दण्डपाणि पौडेल तथा विभिन्न टोल विकास संस्थाका अध्यक्षहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा ऋषिकेश बरालले ज्येष्ठ नागरिकप्रति समर्पित भावपूर्ण कविता वाचन गरेका थिए। उपाध्यक्ष रमाकुमारी पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा सचिव कलाधर सापकोटा र कोषाध्यक्ष अणनाथ बरालले प्रस्तुत गरेका वार्षिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको थियो। सल्लाहकार राधामोहन पौडेलले सञ्चालन गरेको कार्यक्रम ज्येष्ठ नागरिकको सम्मान, सक्रियता र सामाजिक एकतालाई थप सुदृढ बनाउने विश्वासका साथ सम्पन्न भएको संस्थाले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: