पोखरामा जुवाको खालमा प्रहरीको छापा, ९२ हजार नगदसहित ११ जना पक्राउ

Share:

पोखरा । पोखरा महानगरपालिका-३२ घारीमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट ९२ हजार ६ सय ९५ रुपैयाँ नगद र ४ बुक तास बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सोमबार साँझ विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरी टोलीले घारीस्थित एक स्थानमा छापा मारेको थियो।

छापा मार्ने क्रममा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूको साथबाट जुवामा प्रयोग भइरहेको नगद रकम तथा तास बरामद गरिएको हो। प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बीरेन्द्र कुमार पासवानका अनुसार उनीहरूमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरअन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुनेसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: