
पोखरा । पोखरा महानगरपालिकास्थित विजयपुर खोला तर्ने क्रममा आइतबार दिउँसो दुई जना बालक बगेर बेपत्ता भएका छन्। पोखरा महानगरपालिका वडा नम्बर १४ विजयबस्तीबाट वडा नम्बर २६ सक्नेरीतर्फ आउने क्रममा दिउँसो करिब १ बजेतिर भगवती हाइड्रोपावर नजिकै खोला तर्दा अन्दाजी १४ देखि १५ वर्ष उमेरका ती बालकहरूलाई खोलाले बगाएको हो।
बेपत्ता भएका दुई बालकमध्ये एक जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ। पहिचान खुल्नेमा स्याङ्जाको बिरुवा गाउँपालिका वडा नम्बर ७ घर भई हाल पोखरा १४ छिन्नेडाँडा आर्मी पल्ट्रिङ बस्ने १४ वर्षीय निकसन गुरुङ रहेका छन्। दिउँसो करिब २ बजेर ४५ मिनेटमा उनका बुवा चन्द्रबहादुर गुरुङ प्रहरीको सम्पर्कमा आएपछि निकसनको पहिचान पुष्टि भएको हो। अर्का बालकको भने हालसम्म नाम र ठेगाना खुल्न सकेको छैन भने उनका आफन्तहरू पनि अहिलेसम्म प्रहरीको सम्पर्कमा आएका छैनन्।
घटनाको जानकारी प्राप्त हुनासाथ उद्धार तथा खोजी कार्यका लागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरू घटनास्थलमा परिचालन भएका छन्। घटनास्थल इलाका प्रहरी कार्यालय शिशुवाबाट करिब ६ किलोमिटर पश्चिम-दक्षिणमा पर्दछ। इलाका प्रहरी कार्यालय शिशुवाका प्रहरी नायब उपरीक्षक गुणराज बुढाथोकीको कमान्डमा ७ जना, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक रामजी देवकोटाको नेतृत्वमा ७ जना र वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरीक्षक तेजप्रसाद कँडेलको कमान्डमा ७ जनाको टोली परिचालन गरिएको छ।
यसैगरी, सशस्त्र प्रहरी बलको बेस क्याम्प कुँडहरबाट सशस्त्र प्रहरी निरीक्षक केशव शर्माको नेतृत्वमा ९ जनाको गोताखोर टोलीसमेत घटनास्थलमा खटिएको छ। प्रहरी नायब उपरीक्षक गुणराज बुढाथोकीका अनुसार गोताखोरसहितको टोली परिचालन गरी खोजी कार्यलाई अत्यन्त तीव्र पारिएको छ। सुरक्षाकर्मीहरूले विजयपुर खोलाको तल्लो तटीय क्षेत्रहरूमा समेत निगरानी बढाएर बगेका बालकहरूको खोजी जारी राखेका छन्।
