
पोखरा । पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा चार जनाले उम्मेदवारी दर्ता गराएसँगै चुनावी सरगर्मी बढेको छ ।संघको ७२औं वार्षिक साधारणसभा तथा ३६औं महाधिवेशनअन्तर्गत आगामी भदौ २० र २१ गते हुने निर्वाचनमा अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य, बलराम आचार्य र शोभा गौतमले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्षका चार उम्मेदवारमध्ये गौतम र आचार्य प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । बुद्धाचार्य र पोखरेलले भने अध्यक्ष पदमा आफ्नो व्यक्तिगत उम्मेदवारी अघि सारेका छन् । निर्वाचनको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारी फिर्ताको प्रक्रिया भने अझै बाँकी रहेको निर्वाचन समितिले जनाएको छ ।
वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यले संघमा लामो समयदेखि रहँदै आएको आफ्नो अनुभव र संस्थागत विरासतलाई नेतृत्वको आधार बनाएका छन् । व्यवसायीका समस्या समाधानसँगै शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि तथा समग्र आर्थिक विकासका क्षेत्रमा संघको भूमिका अझ प्रभावकारी बनाउने उनको योजना छ । व्यवसायीका साझा समस्या समाधान गर्न निजी क्षेत्र, सरकार र सरोकारवाला निकायबीच समन्वयलाई प्राथमिकता दिने उनको भनाइ छ । वाणिज्यतर्फका वर्तमान उपाध्यक्ष बलराम आचार्य पनि अध्यक्ष पदका बलिया दाबेदारका रूपमा चुनावी मैदानमा छन् ।
संघभित्र करिब एक दशकभन्दा लामो समय विभिन्न जिम्मेवारी सम्हालेको अनुभवलाई उनले आफ्नो प्रमुख आधार बनाएका छन् । व्यवसायीका समस्या प्रत्यक्ष रूपमा सम्बोधन गर्दै पर्यटन र पोखराको आर्थिक विकासलाई प्राथमिकतामा राख्ने उनको योजना छ । संघमा रहँदा प्राप्त अनुभव र व्यवसायीबीचको सम्बन्धलाई आफ्नो मुख्य शक्ति मानेका आचार्यले मतदाताको विश्वासबाट नेतृत्वमा पुग्ने दाबी गरेका छन् । वर्तमान महासचिव शोभा गौतमले संघको इतिहासमा पहिलो महिला अध्यक्ष बन्ने लक्ष्यसहित उम्मेदवारी दिएकी हुन् ।
महिला नेतृत्व, समावेशिता, संस्थागत क्षमता अभिवृद्धि तथा व्यवसायीका व्यावहारिक समस्यालाई प्राथमिकतामा राखेर संघलाई अघि बढाउने उनको प्रतिबद्धता छ । व्यवसायीले विश्वास गरेर जिम्मेवारी दिए त्यसलाई इमानदारीपूर्वक पूरा गर्ने गौतमको भनाइ छ । उनको समूहले पदाधिकारीसहितको प्यानल बनाएर चुनावी अभियान अघि बढाएको छ ।
यसैगरी, अर्जुन पोखरेलले पनि अध्यक्ष पदमा पुन: उम्मेदवारी दिएका छन् । शंकर पेपर वक्र्सका सञ्चालक पोखरेल यसअघि अध्यक्ष पदमा दुईपटक प्रतिस्पर्धा गरिसकेका छन् । दुवैपटक निर्वाचनमा पराजित भएका उनी यसपटक पुन: नेतृत्वका लागि मैदानमा आएका हुन् । व्यवसायीको हकहित, निजी क्षेत्रको संस्थागत सुदृढीकरण र संघलाई अझ प्रभावकारी बनाउने एजेन्डासहित उनले आफ्नो उम्मेदवारी अघि सारेका छन् ।
गौतम र आचार्यको प्यानलमा को-को ?
गौतम समूहबाट वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी, उद्योग उपाध्यक्षमा सौगात थापा र वाणिज्य उपाध्यक्षमा भीम गौतमले उम्मेदवारी दिएका छन् ।त्यस्तै, महासचिवमा तारानाथ ढुंगाना, उपमहासचिवमा यादवप्रसाद पोखरेल र कोषाध्यक्षमा जीवनप्रकाश श्रेष्ठ चुनावी मैदानमा छन् । आचार्य समूहबाट वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला, उद्योग उपाध्यक्षमा ललितबहादुर कुँवर तथा वाणिज्य उपाध्यक्षमा मनोजकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
सो समूहबाट महासचिवमा सुदीप प्रधानांग, उपमहासचिवमा प्रदीप राजभण्डारी र कोषाध्यक्षमा देवेन्द्र प्रजु उम्मेदवार बनेका छन् । उपमहासचिव पदमा रामचन्द्र तिमिल्सिनाले भने स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
सदस्यमा १३ जनाको उम्मेदवारी
संघको कार्यसमिति सदस्यतर्फ यसपटक पनि रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यसअघि सदस्य पदका आकांक्षीबीच छलफल गरी १० जनालाई साझा उम्मेदवारका रूपमा अघि बढाउने सहमति बने पनि अन्तत: १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सदस्य पदमा अमृत पोखरेल, कमलबहादुर सुनार, गोविन्दबहादुर केसी, दिलीपकुमार श्रेष्ठ, दुर्गा बराल, नवीन नापित, निर्मला चापागाईं, भानुभक्त अधिकारी, मनोहरि पौडेल, रामप्रसाद कँडेल, रामेश्वर अधिकारी, सूर्यराज घिमिरे र हरिप्रसाद अधिकारीले उम्मेदवारी दिएका छन् ।
वस्तुगत सदस्यतर्फ केशव ढकाल, मुक्तिप्रसाद पनेरु, लक्ष्मीप्रसाद अधिकारी र लालप्रसाद ढकालको उम्मेदवारी परेको छ । वस्तुगततर्फ चार सदस्य निर्वाचित हुने भएकाले चार जनाकै उम्मेदवारी परेको छ । औद्योगिक सदस्यतर्फ पिताम्बर अधिकारीको मात्रै उम्मेदवारी परेको छ । उक्त पदमा एक जना निर्वाचित हुने भएकाले उम्मेदवारीको संख्या पनि एकै रहेको छ ।
तर दाबीविरोध र उम्मेदवारी फिर्ताको प्रक्रिया बाँकी रहेकाले वस्तुगत र औद्योगिक सदस्यमा अहिल्यै निर्विरोध निर्वाचित भएको घोषणा गर्न नमिल्ने निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका संयोजक पूर्वअध्यक्ष दामु अधिकारीका अनुसार उम्मेदवारीमाथि दाबीविरोधका लागि मंगलबार दिउँसो १ बजेसम्मको समय तोकिएको छ ।
भदौ ११ गते अपराह्न ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ । सो समय सकिएपछि अन्तिम नामावली प्रकाशन गरिनेछ । पोखरा उद्योग वाणिज्य संघको निर्वाचनलाई व्यवस्थित बनाउन पूर्वअध्यक्ष अधिकारीको संयोजकत्वमा सात सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । संघमा हाल २ हजार ७३१ सदस्य रहेका छन् । २०११ सालमा अमृतप्रसाद शेरचनको अध्यक्षतामा पहिलो नेतृत्व चयन भएको पोखरा उद्योग वाणिज्य संघको यसपटकको निर्वाचनमा चार जना अध्यक्षका उम्मेदवार मैदानमा उत्रिएपछि प्रतिस्पर्धा थप रोचक बनेको छ ।
