पोउवा संघ अधिवेशन: प्यानलमुक्त ८ स्वतन्त्र सदस्य उम्मेदवारलाई व्यवसायीको समर्थन

Share:

पोखरा। पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६ औं महाधिवेशनका क्रममा कुनै पनि प्यानलमा नबसी स्वतन्त्र रूपमा कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका ८ जना उम्मेदवारहरूलाई स्थानीय व्यवसायीहरूले उत्साहजनक समर्थन र धन्यवाद व्यक्त गरेका छन्।

महेन्द्रपुल, पन्थी गल्ली, पराजुली मार्ग, ट्रेडमल तथा बुद्ध विशाल बजारलगायतका व्यावसायिक क्षेत्रमा पुगेर उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्र बनाएका छन्।

प्रचारप्रसारका क्रममा उम्मेदवारहरूले व्यावसायिक हकहितको संरक्षण, कर प्रणालीमा व्यावहारिक सुधार र शिथिल बनेको बजारलाई चलायमान बनाउनेजस्ता प्रतिबद्धताहरू प्रस्तुत गरेका छन्।

घरदैलोका क्रममा मतदाता व्यवसायीहरूले विद्यमान आर्थिक मन्दी, चर्को बैंक ब्याजदर र ग्राहकको अभावका कारण भोग्नुपरेका समस्याहरू पोखेका थिए।

चुनावमा दलीय वा प्यानलगत प्रभावभन्दा माथि उठेर व्यवसायीका वास्तविक समस्या समाधान गर्न सक्ने सक्षम नेतृत्व चुनिनुपर्नेमा मतदाताहरूले जोड दिएका छन्।

घरदैलो कार्यक्रममा स्वतन्त्र उम्मेदवारहरू अमृत पोखरेल, सूर्यराज घिमिरे (सुरेश), दुर्गा बराल, नवीन नापित, मनोहरी पौडेल, राम कँडेल, कमलबहादुर सुनार र भानुभक्त अधिकारीको सहभागिता रहेको थियो।

कमेन्ट गर्नुहोस्
Share: