पोखरामा ‘द फायर ग्याङ’ को नाममा व्यवसायीलाई धम्क्याएर रकम असुल्ने दुई जना पक्राउ

Share:

पोखरा। पोखराका विभिन्न स्थानमा पर्यटन व्यवसायीहरूलाई ह्वाट्सएप मार्फत ज्यान मार्ने र अपहरण गर्ने धम्की दिएर रकम माग गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विगत एक महिनादेखि पृथ्वीचोक र लेकसाइड क्षेत्रका व्यवसायीलाई ‘द फायर ग्याङ’ को नामबाट त्रास देखाएर रकम असुल गर्न खोज्ने उनीहरूलाई शुक्रबार राति पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कास्की, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त टोलीले गहन अनुसन्धान र पहिचानका आधारमा भदौ १२ गते (शुक्रबार) राति अन्दाजी १२:३० बजे पोखरा महानगरपालिका वडा नं. ६ डिगोपाटनबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा धनकुटाको मारेक कटहरे गाउँपालिका-६ स्थायी वतन भई हाल पोखराको लेकसाइड बस्ने ३६ वर्षीय प्रेम थापा र सुनसरीको इटहरी उपमहानगरपालिका-२५ स्थायी घर भई हाल लेकसाइडमै बस्ने २९ वर्षीय पंकज खड्का रहेका छन्।

पक्राउ परेका दुवै जनाविरुद्ध आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: