
काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार कोशी, बागमती र कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा पहिरो खस्दा तथा बाढीको जोखिम बढेपछि यातायात सेवा पूर्ण तथा आंशिक रूपमा प्रभावित भएको हो।
कोशी प्रदेशअन्तर्गत मेची राजमार्गको इलाम नगरपालिका-९ राजदुवालीस्थित सडक खण्ड भदौ २३ गतेदेखि नै पूर्ण रूपमा अवरुद्ध छ। ताप्लेजुङ-झापा जोड्ने यो सडक बन्द भएपछि हाल वैकल्पिक मार्गमार्फत सवारी साधन सञ्चालन गराइएको छ।
त्यसैगरी बागमती प्रदेशमा पृथ्वी राजमार्गको धादिङस्थित बेनिघाट रोराङ गाउँपालिका-७ कृष्णभिर र गजुरी गाउँपालिका-२ परेवाभिरमा भदौ १४ गते खसेको पहिरोका कारण यातायात ठप्प बनेको छ।
अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ कोदारीमा पहिरोले सडक अवरुद्ध पारेको छ भने रसुवामा बाढीका कारण उत्तरगया गाउँपालिका-५ खाल्टेस्थित त्रिशुली-मैलुङ-स्याफ्रुबेसी र पासाङ ल्हामु राजमार्ग पूर्ण रूपमा बन्द भएका छन्।
कर्णाली प्रदेशको मुगुस्थित छायाँनाथ रारा नगरपालिका-७ झ्यारीखोला र टोक्ला क्षेत्रमा खसेको पहिरोले नाग्म-मुगु गमगढी सडक खण्डसमेत ठप्प पारेको छ।
बाढी र पहिरोको सम्भावित जोखिमलाई मध्यनजर गर्दै केही संवेदनशील राजमार्गहरूमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ। वि.पि. राजमार्गको काभ्रेस्थित खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ भने दिनको समयमा अवस्था हेरेर मात्र गाडी छाड्ने गरिएको छ।
यसैगरी कान्ति लोकपथको हेटौँडा-ठिङ्गन-बागमती-ललितपुर खण्डमा राति ७ बजेदेखि बिहान ५ बजेसम्म र टोखा-छहरे सडकको नुवाकोटस्थित घट्टेखोला खण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।
