बाढी प्रभावितलाई युनाईटेड क्लब पोखराको १ लाख सहयोग, कास्कीका प्रजिअलाई गराइयो जानकारी

Share:

पोखरा । युनाईटेड क्लब पोखराले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा १ लाख आर्थिक सहयोग गरेको छ।

सरकारको एकद्वार प्रणाली नीतिअनुसार कोषमा उक्त रकम जम्मा गरेपश्चात् क्लबका अध्यक्ष लोक बहादुर थापा नेतृत्वको पदाधिकारी टोलीले कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई भेटेर सहयोगबारे औपचारिक जानकारी गराएका छन्।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी गुरुङले क्लबको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै विपद्को यस कठिन घडीमा आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न सबैमा आग्रह गरे।

क्लबका अध्यक्ष लोक बहादुर थापाले सामाजिक कार्यसँगै विपद्मा परेकाहरूलाई बर्सेनि सहयोग गर्दै आएको र सोही निरन्तरतास्वरूप रसुवा बाढीपीडितलाई सहयोग गरिएको बताए।

वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, प्रथम उपाध्यक्ष शान्त बहादुर थापा, द्वितीय उपाध्यक्ष एवं विपद् व्यवस्थापन उपसमिति संयोजक सूर्य बहादुर बानियाँ, कोषाध्यक्ष जयराम आचार्य र सचिव सन्तोष कार्कीको उपस्थिति रहेको उक्त कार्यक्रममा क्लबले पोखरा महोत्सव तथा तिहारको देउसीभैलोमार्फत विपद् व्यवस्थापन कोष खडा गरी देशका विभिन्न भागमा सहयोग पुर्‍याउँदै आएको जानकारी गराइएको थियो।

कमेन्ट गर्नुहोस्
Share: