चीनमा ‘दुई बच्चा नीति’ अनुमोदित

Share:

मङ्शिर २८ बेइजिङ / ‘एक बच्चा’ नीतिलाई हटाई ‘दुई बच्चा नीति’ अवलम्बन गर्ने घोषणा गरेसँगै चीनले परिवार नियोजनसम्बन्धी सेवा थप प्रभावकारी बनाउने जनाएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी जिनपिङको सभापतित्वमा बसेको केन्द्रीय समितिको राजनीतिक विभागले ‘दुई बच्चा नीतिलाई’ सोमबार अनुमोदित गर्दै परिवार नियोजनसम्बन्धी सेवालाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।

सोमबार बैठकपछि जारी वक्तव्यमा भनिएको छ, ‘चिनियाँ कम्युनिस्ट पार्टीले चीनको जनसंख्या र परिवार नियोजन सेवालाई विशेष महत्व दिँदै चीनको जनसांख्यिकीय तथा विकास कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै अघि बढ्नेछ ।’

लामो प्रयासपछि चीनको अस्तव्यस्त जनसंख्यालाई नियन्त्रण गर्दै चिनियाँ नागरिकको जीवनमा सुधार आएको र चिनियाँ नागरिकको चाहनालाई सम्मान गर्दै दुई बच्चा नीतिलाई स्वीकार गरिन लागेको जनाइएको छ ।

परिवार नियोजन सेवालाई व्यवस्थापन गर्नु राज्यको विकास र जनसंख्यालाई सन्तुलित राख्नका लागि महत्वपूर्ण कार्य हुने र सेवा सुविधा र जनसांख्यिकीयस्वरूप, वृद्ध समाज र योग्य कामदारको उत्पादन तथा आपूर्तिमा सहायकसिद्ध हुने बैठकपछि जारी वक्तव्यमा भनिएको छ ।

गत अक्टोबर अन्त्यतिर चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठकले एक बच्चा नीतिलाई परिवर्तन गर्दै दोस्रो बच्चा जन्माउने चाहने दम्पतीलाई त्यसका लागि अनुमति दिने निर्णय गरेको थियो ।

चीनमा भएको जनसंख्या नियन्त्रणसँगै वृद्ध समाजको बाहुल्य भएको र आगामी दिनमा जुझारु जनशक्तिको कमी हुन सक्ने कुरालाई ध्यानमा राख्दै दुई बच्चा नीतिलाई स्वीकार गरिएकोे हो ।

कमेन्ट गर्नुहोस्
Share: