
पोखरा। पोखरा पर्यटन परिषदको नयाँ अध्यक्षमा टानका पूर्व अध्यक्ष हरि भुजेल निर्वाचित भएका छन्। परिषदको २६ औं साधारण सभा तथा १४ औं अधिवेशनले भुजेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
चुनावी प्रतिस्पर्धामा भुजेलले आफ्ना प्रतिद्वन्द्वी कृष्ण भण्डारीलाई १४ मतान्तरले पराजित गरे। कुल ३९ प्रतिनिधि रहेको परिषदमा भुजेलले २५ मत प्राप्त गर्दा भण्डारीले ११ मत मात्र पाए भने ३ मत बदर भएको थियो।
अधिवेशनले परिषदको सदस्यहरूमा बाबुराम पाण्डे, सुनिलबहादुर भट्टराई, शोभा अधिकारी सापकोटा, जीवनराज सापकोटा र नारायणप्रसाद सुवेदी गरी ५ जनालाई सर्वसम्मत रूपमा चयन गरेको छ। नयाँ कार्यसमितिले प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पदमा पछि मनोनयन गर्ने जनाइएको छ।
यसअघि नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले उद्घाटन गरेको अधिवेशनको उद्घाटन सत्र परिषदका अध्यक्ष तारानाथ पहारीको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा बोल्दै पोखरेलले पोखराको दिगो तथा गुणस्तरीय पर्यटन विकासका लागि सरकार गम्भीर रूपमा अघि बढिरहेको बताए। साधारण सभाले महासचिव जीवनराज सापकोटाद्वारा प्रस्तुत सांगठनिक र कोषाध्यक्ष बाबुराम पाण्डेद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनमाथि छलफल गर्दै दुवै प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।
