
काठमाडौं । म्याक्ससको सहयोग तथा हिमालय अर्गनाइजेसनको समन्वयमा म्याक्सस नेपालले हालैको विपद्बाट प्रभावित समुदायहरूका लागि करिब ८० लाख बराबरको राहत तथा पुनस्र्थापना सहयोग प्रदान गरेको छ ।
कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्यक्ष आर्थिक सहयोग, दिगो स्वच्छ खानेपानीको व्यवस्थापन र अत्यावश्यक राहत सामग्री हस्तान्तरण गरेको हो ।
यस सहयोग अभियान अन्तर्गत म्याक्सस नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाखको चेक केही दिनअघि नै अर्थमन्त्रीलाई हस्तान्तरण गरिसकेको छ।
बाँकी ३० लाख बराबरको रकमबाट त्रिशूली नदी पारिका विपद् प्रभावित दुईवटा होल्डिङ सेन्टरमा स्वच्छ खानेपानीका लागि अल्ट्रा फिल्टर वाटर ट्रिटमेन्ट प्लान्ट जडान गरिएको छ भने झन्डै ४०० जनालाई पुग्ने अत्यावश्यक राहत सामग्री वितरण गरिएको छ।
राहत वितरण कार्यक्रममा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा, प्रबन्ध निर्देशक मिलन थापा तथा लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे नेपालका चिफ गभर्नर रामराजा थापा लगायतका प्रतिनिधिहरूको प्रत्यक्ष उपस्थिति रहेको थियो।
राहत स्वरूप प्रभावित परिवारहरूलाई सुत्ने डसना, सिरानी, तन्ना, औषधि, आधारभूत स्वास्थ्य सामग्री, खाद्यान्न, तरकारी, खाना पकाउने भाँडाकुँडा र लत्ताकपडा उपलब्ध गराइएको छ।
यसैगरी, खानेपानी सहज बनाउन नुवाकोटको त्रिशूलीस्थित श्री भैरम माध्यमिक विद्यालय (३०० प्रभावित परिवार) र विदुर नगरपालिकाको त्रिशूली प्राथमिक विद्यालय (२०० प्रभावित परिवार) मा सौर्य ऊर्जामा आधारित पानी शुद्धीकरण प्रणाली जडान गरिएको छ। प्रति घण्टा १,००० लिटर पानी शुद्धीकरण गर्ने क्षमता भएका यी प्रणालीबाट हाल अस्थायी आश्रयस्थलमा रहेका परिवार र पछि विद्यालयका विद्यार्थीहरू लाभान्वित हुनेछन्।
