पोउवा संघमा पहिलोपटक महिला नेतृत्वः शोभा गौतम अध्यक्षमा निर्वाचित, को हुन् उनी ?

Share:

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ७० वर्ष लामो इतिहासमा पहिलोपटक महिलाले संस्थाको नेतृत्व सम्हाल्ने भएकी छन्। संघको ७२ औं अधिवेशनबाट वर्तमान महासचिव शोभा गौतम अध्यक्षमा निर्वाचित भएकी हुन्। आफ्ना तीन पुरुष प्रतिस्पर्धी अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य र बलराम आचार्यलाई पराजित गर्दै उनले यो ऐतिहासिक जित हासिल गरेकी हुन्।

यसअघि विन्दु कोइराला र हीरा भट्टराईले अध्यक्षका लागि प्रयास गरे पनि सफल हुन सकेका थिएनन्। आफ्नो जितलाई हजारौं संघर्षशील महिला उद्यमीहरूको प्रतिनिधि आवाजका रूपमा लिँदै गौतमले पदलाई अधिकारभन्दा पनि सेवाको अवसरका रूपमा व्याख्या गरेकी छन्।

२६ वर्षअघि उद्योग वाणिज्य संघकै कार्यालय अगाडि एउटा सानो चिया पसलबाट व्यावसायिक यात्रा सुरु गरेकी गौतमले पछि महेन्द्रपुलमा ‘पुष्पाञ्जली ब्युटी पार्लर’ स्थापना गरी आफूलाई स्थापित गराइन्।

सामाजिक चुनौतीहरूका बाबजुद संघर्ष गर्दै अघि बढेकी उनी हाल सुप्रिम सप्लायर्समार्फत लुब्रिकेन्ट, फेसन, इभेन्ट, रेस्टुरेन्ट, कृषि र ग्रोसरी जस्ता विविध क्षेत्रमा सक्रिय छिन्।

विसं २०७३ मा साधारण सदस्यका रूपमा संघमा प्रवेश गरेकी उनी कार्यसमिति सदस्य र उपमहासचिव हुँदै महासचिवको जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेकी अनुभवी उद्यमी हुन्।

‘सुदृढ संघ, सक्षम नेतृत्व’ को नारासहित १४ बुँदे प्रतिबद्धता सार्वजनिक गरेकी गौतमको मुख्य प्राथमिकता संघलाई सबै उद्योगी व्यवसायीको साझा घरका रूपमा स्थापित गर्नु रहेको छ।

उनले कृषि, पर्यटन प्रवर्धन, युवा उद्यमशीलता, महिला सशक्तीकरण, न्यु रोडको पार्किङ समस्या समाधान, ‘मेड इन पोखरा’ अभियान र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन जस्ता विषयलाई आफ्नो प्राथमिकतामा राखेकी छन्।

विगतमा जिआईजेडको वित्तीय साक्षरता र छेन्दु–पोखरा उडान समन्वयको जिम्मेवारी कुशलतापूर्वक सम्हालिसकेकी गौतमको नेतृत्वले पोखराको उद्योग–वाणिज्य क्षेत्रमा नयाँ र सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: