कास्कीमा फरार रहेका ११ प्रतिवादी पक्राउ

Share:

पोखरा । कास्की प्रहरीले विभिन्न कसूरमा अदालतबाट सजाय पाएर फरार रहँदै आएका ११ जना प्रतिवादीहरूलाई आइतबार पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका कार्यालयबाट खटिएको विशेष टोलीले जिल्लाका विभिन्न स्थानबाट ९ जना पुरुष र २ जना महिलालाई नियन्त्रणमा लिएको हो।

अदालतबाट दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका उनीहरूलाई आवश्यक कारबाही तथा लगत असुल उपरका लागि कास्की जिल्ला अदालतमा बुझाइएको छ।

पक्राउ परेका प्रतिवादीहरूबाट कुल १ महिना कैद सजाय र १ लाख ५४ हजार २ सय ५० रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा सवारी ज्यान, लागू औषध, सम्बन्ध विच्छेद र अभद्र व्यवहार सम्बन्धी कसूरका २/२ जना रहेका छन्। यसैगरी केही सार्वजनिक अपराध, बैंकिङ कसूर र सवारी दुर्घटनाबाट अंगभंग सम्बन्धी कसूरका १/१ जना प्रतिवादीलाई पनि नियन्त्रणमा लिइएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानका अनुसार अदालतको फैसला कार्यान्वयन गराउने सिलसिलामा खोजतलास गर्दा उनीहरू पक्राउ परेका हुन्।

समाजमा अपराध गरेर सजायबाट उम्किन खोज्नेहरूलाई कानुनी दायरामा ल्याउन कास्की प्रहरीले जिल्लाभर फरार प्रतिवादी खोजी अभियानलाई तीव्रता दिएको छ।

यस कारबाहीले लामो समयदेखि थन्किएर रहेका मुद्दाहरूको फैसला कार्यान्वयनमा टेवा पुग्ने र कानुनी शासनको अनुभूति गराउने विश्वास प्रहरीले लिएको छ।

कमेन्ट गर्नुहोस्
Share: