
पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३६ औं अधिवेशनबाट शोभा गौतम अध्यक्षमा निर्वाचित भएकी छन्। संघको ७० वर्ष लामो इतिहासमा पहिलोपटक महिलाले नेतृत्व सम्हाल्ने अवसर पाएका हुन्। यसअघि विन्दु कोइराला र हीरा भट्टराईले अध्यक्ष पदका लागि प्रयास गरे पनि सफल हुन सकेका थिएनन्। संघको सदस्य र महासचिव हुँदै अध्यक्ष बनेकी गौतमको व्यावसायिक यात्रा २६ वर्षअघि संघकै कार्यालयअगाडि एउटा सानो चिया पसलबाट सुरु भएको थियो ।
पछि महेन्द्रपुलमा ‘पुष्पाञ्जली ब्युटी पार्लर’ सञ्चालन गरेर उनले आफूलाई सफल व्यवसायीका रूपमा स्थापित गराएकी हुन्। कडा प्रतिस्पर्धाबीच भएको निर्वाचनमा गौतमले ७५१ मत प्राप्त गर्दै विजय हासिल गरिन्। उनका प्रतिस्पर्धीहरू अर्जुन पोखरेलले ६३७, उत्तममान बुद्धाचार्यले ६०१ र बलराम आचार्यले २५३ मत प्राप्त गरे।
संघको वरिष्ठ उपाध्यक्षमा १४८१ मतका साथ दिनेशचन्द्र बास्तोला विजयी भए भने उनका प्रतिस्पर्धी टिकाराम सुवेदीले ७६० मत ल्याए। महासचिव पदमा सुदीप प्रधानाङ्ग १२०२ मत ल्याएर निर्वाचित हुँदा तारानाथ ढुंगानाले १०४२ मत प्राप्त गरे।
उद्योगतर्फको उपाध्यक्षमा १२७१ मतका साथ सौगात थापा विजयी बने, जहाँ ललितबहादुर कुँवरले ९७३ मत पाए। यस्तै, वाणिज्यतर्फको उपाध्यक्षमा मनोजकुमार श्रेष्ठ १०६५ मत ल्याएर विजयी हुँदा भीम गौतमले ९१९ मत ल्याए।
कोषाध्यक्ष पदमा देवेन्द्र प्रजु १४३९ मतका साथ विजयी भए भने उनका प्रतिस्पर्धी जीवनप्रकाश श्रेष्ठले ७७७ मत प्राप्त गरे। उपमहासचिवमा ११५३ मत ल्याउँदै प्रदीप राजभण्डारी निर्वाचित भए। यस पदका अन्य उम्मेदवारहरू यादवप्रसाद पोखरेलले ६५८ र रामचन्द्र तिमिल्सिनाले ४३३ मत प्राप्त गरे।
१० जना खुला सदस्यका लागि १३ जनाको उम्मेदवारी परेकोमा दुर्गा बराल (१७४८ मत), अमृत पोखरेल (१७३१ मत), निर्मला चापागाईं (१५८० मत), गोविन्दबहादुर केसी (१४८७ मत), रामेश्वर अधिकारी (१४७७ मत), मनोहरी पौडेल (१४७६ मत), भानुभक्त अधिकारी (१४७६ मत), दिलीपकुमार श्रेष्ठ (१४४७ मत), रामप्रसाद कँडेल (१४३५ मत) र कमलबहादुर सुनार (१४२४ मत) विजयी भए। सोही पदका अन्य उम्मेदवारहरू नवीन नापित (१३४३ मत), हरिप्रसाद अधिकारी (१३४३ मत) र सूर्यराज घिमिरे (१३०३ मत) पराजित भए।
