
पोखरा । कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिअन्तर्गतको नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा ‘गण्डकी प्रदेशस्तरीय मिडिया कप फुटसल प्रतियोगिता-२०८३’ आयोजना हुने भएको छ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय खेल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगिताको सहयोगी संस्थाका रूपमा प्रतिष्ठित व्यावसायिक घराना हिमश्री फुड्स प्रालि जोडिएको छ।
हिमश्री फुड्सका निर्देशक प्रकाश केसीले प्रतियोगिताको पूर्ण सफलताको कामना गर्दै पहिलोपटक आयोजना हुन लागेको यस प्रदेशस्तरीय मिडिया कपलाई प्रालिको तर्फबाट पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाएको छ।
निर्देशक केसीको उक्त सहयोगप्रति कल्पका अध्यक्ष सुरज श्रेष्ठले आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे । स्मरणीय छ, हिमश्री फुड्स पोखरामा आयोजना हुने प्रसिद्ध राष्ट्रियस्तरको आहा रारा गोल्डकपको मुख्य प्रायोजक समेत रहँदै आएको छ।
विविध संघ-संस्था तथा सरोकारवाला निकायहरूसँगको सहकार्यमा सञ्चालित यस प्रतियोगिता गण्डकी प्रदेशस्तरीय भए तापनि खेलकुद पत्रकारहरूबीचको आपसी सम्बन्ध विस्तार र दायरा फराकिलो बनाउन ‘खुला खेल’को अवधारणा अनुसार सञ्चालन गरिने आयोजकले जनाएको छ।
जसअनुसार सूचना विभागको परिचयपत्र भएका वा नेपाल पत्रकार महासंघ तथा नेपाल खेलकुद पत्रकार मञ्चमा आबद्ध जुनसुकै जिल्लाका पत्रकार खेलाडीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्।
सहभागी सम्पूर्ण खेलाडीहरूको खेल अवधिभरको बीमा गरिने हुँदा टोलीहरूलाई आवश्यक विवरण यथाशीघ्र उपलब्ध गराउन अध्यक्ष श्रेष्ठले आग्रह
टीम दर्ता शुल्क ३ हजार रुपैयाँ तोकिएको यस प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार रुपैयाँका साथै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ३० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ।
त्यसैगरी व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट प्रशिक्षकलाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने प्रत्येक खेलका ‘म्यान अफ दि म्याच’लाई नगद १ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ।
