पोखराका युवाहरूद्वारा नुवाकोट र रसुवाका बाढीपीडितलाई राहत वितरण

Share:

पोखरा । भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण सडक सञ्जाल विच्छेद भई खाद्यान्न सङ्कट झेलिरहेका नुवाकोट र रसुवाका बाढीपीडितहरूलाई पोखराबाट पुगेको टोलीले राहत सामग्री वितरण गरेको छ।

बाढी प्रभावित क्षेत्रका कतिपय गाउँहरूमा अझैसम्म सरकारी तथा अन्य राहत नपुगेर सर्वसाधारण भोकभोकै रहनुपर्ने बाध्यता सिर्जना भएपछि हालै दर्ता भएको ‘भविष्यका लागि आवाज, नेपाल’ (भ्वाइस फर फ्युचर, नेपाल) संस्थाको पहलमा उक्त राहत सामग्री उपलब्ध गराइएको हो।

पोखराका केही व्यक्ति तथा विदेशमा रहेका नेपालीहरूबाट सङ्कलित नगद एवं जिन्सी सहयोगमार्फत ३ लाख रुपैयाँभन्दा बढी मूल्यको उपभोग्य सामग्री खरिद गरी नुवाकोटको किस्पाङ गाउँपालिका-५ चाम्पानी पुगेर वितरण गरिएको छ।

चाम्पानीकी सामाजिक कार्यकर्ता सङ्गीता गुरुङसँगको समन्वयमा दुई दिनको कठिन यात्रा पूरा गरी पुगेको टोलीले ५५ परिवारका लागि ५५ बोरा चामलका साथै दाल, तेल, नुन, चाउचाउ, दालमोठ र सोयाबिनसहितका खाद्यान्न दुईवटा गाडीमा लगेर हस्तान्तरण गरेको हो। रसुवा र नुवाकोटको सिमानामा पर्ने उक्त स्थानमा रसुवाका बाढीपीडितहरूले समेत राहत प्राप्त गरेका छन्।

राहत वितरण टोलीको नेतृत्व गर्नुभएका संस्थाका अध्यक्ष बुद्धिबहादुर (कुमार) रानाका अनुसार प्रभावित क्षेत्रका बासिन्दाले नगदभन्दा खाद्यान्नको माग गरेकाले सोहीअनुरूप सामग्री पुर्‍याइएको हो।

सो अवसरमा कोषाध्यक्ष राजकुमार गुरुङ तथा गणेशमान फाउन्डेसन गण्डकीका अध्यक्ष दुर्गाप्रसाद तिमिल्सिनाले सुरक्षा निकायका ब्यारेकमा जम्मा भएका राहत सामग्री सडक अभावका कारण वास्तविक पीडितसम्म पुग्न नसकेको उल्लेख गर्दै राहत सीधा प्रभावित स्थलमै पुर्‍याउनुपर्नेमा जोड दिए।

उक्त क्षेत्रमा अझै पनि ६० भन्दा बढी मानिस बेपत्ता रहेको र ४० भन्दा बढी परिवार घरबारविहीन बनेका छन्। गण्डकी प्रदेश सांसद सरस्वती गुरुङको बिदाइसँगै प्रस्थान गरेको उक्त टोलीमा महेश तिमिल्सिना, पदम बस्टाकोटी, नरेन्द्र मरासिनी र जीवन हिमालीलगायतको सहभागिता रहेको थियो।

कमेन्ट गर्नुहोस्
Share: