
पोखरा । त्रिशूली नदीको कटानका कारण कृष्णभिरमा भासिएको पृथ्वी राजमार्ग असोज १ गतेअघि नै सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। भिर कटानको काम सकिएकाले अब सडकको सतह मिलाएर यातायात सञ्चालन गर्ने तयारी छ।
मुग्लिङ-मलेखु खण्ड निर्माण आयोजनाकी प्रमुख सिनियर डिभिजनल इन्जिनियर सजना अधिकारीका अनुसार भित्ता काट्ने काम सकिइसकेको छ। अब राजमार्गको स्लोप र सर्फेस मिलाउन बाँकी छ। त्यसपछि कम्प्याक्सन गर्दै ग्राबेल गरेर राजमार्ग सञ्चालनमा ल्याइनेछ। कामको गति यही रहेमा २ वा ३ दिनभित्रै सडक खुल्न सक्ने सम्भावना छ। आयोजनाले बढीमा असोज १ गतेसम्म राजमार्ग चलाउने लक्ष्य राखेको छ।
१० मिटर चौडाइ र १५२ मिटर लम्बाइमा भिर काटेपछि राजमार्ग खुलाउने आधार तयार भएको हो। भिरको माथिल्लो भागदेखि नै स्लोपमा काटिएकाले सतहमा आइपुग्दा सडक १० मिटर फराकिलो बनेको छ।
राजमार्ग खुलाउन अहिले एक्साभेटर, बुल्डोजर, लोडर, ब्याकहो, टिप्पर, रक ब्रेकर र ग्रेडरजस्ता उपकरणहरु निरन्तर प्रयोग भइरहेका छन्। आयोजनाका इन्जिनियर धिरण ढकालले दिनरात नभनी काम भइरहेको बताए। सडक खुला भएपछि पहिलो प्राथमिकता एलपी ग्यासका बुलेट, खाद्यान्न, औषधि बोकेका गाडी र एम्बुलेन्सलाई दिइनेछ।
गत भदौ १४ गते राजमार्ग भासिएपछि काठमाडौँ उपत्यकामा एलपी ग्यास तथा खाद्यान्न ढुवानीमा समस्या उत्पन्न भएको छ। वैकल्पिक मार्गहरुबाट पर्याप्त आपूर्ति हुन नसक्दा राजधानीमा समस्या बढेको हो। कृष्णभिरमा २०५७ सालदेखि नै पहिरो र सडक भासिने समस्या आउने गरेको थियो। केही वर्ष शान्त रहे पनि भदौ १४ को घटनापछि पुनः आवागमन ठप्प भएको हो।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार सडक अवरुद्ध हुँदा काठमाडौँ आवतजावत गर्ने दैनिक १५ हजार हाराहारीका सवारीसाधन रोकिएका छन्। यसरी प्रभावित भएका गाडीहरुमध्ये मालवाहक र खाद्यान्न बोक्ने सवारी साधनको संख्या मात्रै करिब ४ हजार रहेको छ।
