पोखरामा मिडिया कप फुटसलको तयारी पूरा

Share:

पोखरा । कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिअन्तर्गत नयाँलिपि न्यूज डटकमको आयोजनामा यही असोज २ र ३ गते पोखरा रंगशालास्थित बहुउद्देश्यीय खेल मैदानमा सञ्चालन हुने मिडिया कप फुटसल प्रतियोगिता-२०८३ को सम्पूर्ण तयारी पूरा भएको छ। पोखरामा आयोजित प्रेस मिटमा आयोजक संस्थाका अध्यक्ष सुरज श्रेष्ठले खेलको उद्देश्यबारे जानकारी गराउँदै प्रतियोगिताबाट आर्जित मुनाफा भोटेकोशी बाढी प्रभावितलाई सहयोग स्वरूप प्रदान गरिने बताए।

प्रदेशस्तरीय खुला अवधारणामा आयोजना हुने यस प्रतियोगितामा सूचना विभागको परिचयपत्र भएका वा नेपाल पत्रकार महासंघ तथा नेपाल खेलकुद पत्रकार मञ्चमा आबद्ध गण्डकी प्रदेश लगायत अन्य जिल्लाका पत्रकार खेलाडीहरूले सहभागिता जनाउन पाउनेछन्।

प्रतियोगितामा सहभागी हुने बाहिरी जिल्लाका टोलीहरूका लागि आयोजकले दुई छाक खाना र एक रातको बसोबासको विशेष व्यवस्था गरेको छ।साथै, खेल अवधिभर सम्पूर्ण खेलाडीको बीमा गरिने र दर्ता शुल्क तीन हजार रुपैयाँ तोकिएको छ। देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै टिम दर्ताको समयमा केही लचकता अपनाइए तापनि प्रतियोगिता तोकिएकै मिति असोज २ र ३ गते नै सञ्चालन हुने आयोजकले स्पष्ट पारेको छ।

प्रतियोगिताका विजेता टोलीले नगद ५० हजार रुपैयाँसहित शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् भने उपविजेताले नगद ३० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यसैगरी सर्वोत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही ५ हजार र प्रत्येक खेलका म्यान अफ दि म्याचलाई १५ सय रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगितालाई सफल बनाउन पोखरा महानगरपालिका वडा नं. १२ र कफी डि हिमालयजले मुख्य प्रायोजन गरेका छन् भने प्रदेश खेलकुद परिषद् गण्डकी, कास्की जिल्ला खेलकुद विकास समिति, पोखरा महानगर खेलकुद विकास समिति, र वडा नं. ३ सहयोगी संस्थाका रूपमा रहेका छन्।

यसका साथै गण्डकी मेडिकल कलेज, चाइनिज गार्डेन रेष्टुरेन्ट, गो बन्जी, परिचय एडभर्टाइजिङ लगायतका संघ-संस्थाहरूले मेडिकल, हस्पिटालिटी र प्रवर्द्धकका रूपमा सहकार्य गरेका छन्। प्रेस मिटमा महासंघ र खेलकुद पत्रकार मञ्चका प्रतिनिधिहरूले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: