
पोखरा । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरुको राहत तथा उद्धारका लागि भारतीय भूतपूर्व सैनिक ४/३ गोर्खा राइफल्स पोखरा , परिवारले १ लाख ५३ हजार ३ सय ९५ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बाढीपीडितका लागि संस्थामा आवद्ध सदस्य तथा शुभेच्छुकहरूबाट संकलन गरिएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नका लागि भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल, पोखरालाई हस्तान्तरण गरिएको हो ।
उक्त रकम संस्थाका निवर्तमान अध्यक्ष सु/अ. क्या डिक बहादुर गुरुङ, संस्थापक अध्यक्ष सु.मे प्रेम बहादुर क्षत्री, सचिव ह. धिर बहादुर गुरुङ तथा कोषाध्यक्ष सु मे/ अ. ले नेम बहादुर गुरुङको उपस्थितिमा संस्थाका अध्यक्ष सु मे/ अ. क्या. कृष्ण बहादुर थापाद्वारा गोर्खा ब्रीगेडका अध्यक्ष कर्नल कृष्ण बहादुर खत्री लाई हस्तान्तरण गरिएको थियो ।
भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल, पोखराले पोखरामा रहेका विभिन्न पल्टन तथा एसोसिएसनहरूबाट संकलित सहयोग रकमलाई एकमुष्ट रूपमा जम्मा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने तथा सो सम्बन्धी विवरणसहित कास्कीका प्रमुख जिल्ला अधिकारी लाई पत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको जनाएको छ ।
४/३ गोर्खा राइफल्स पोखरा का अध्यक्ष क्याप्टेन कृष्णबहादुर थापाले विपद्को पीडामा रहेका नागरिकसम्म राहत पुगोस् भन्ने उद्देश्यले पल्टन को सदस्य तथा शुभेच्छुकहरूबाट सानो-सानो रकम संकलन गरिएको बताए ।
उनले सानो-सानो सहयोगबाट पनि सरकारको राहत अभियानमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्दै देशमा विपद् परेको अवस्थामा भारतीय भूतपूर्व सैनिकहरू एकजुट भएर सहयोग गर्न सदैव तयार रहेको बताए ।
“हामीले संकलन गरेको रकम सानो हुन सक्छ, तर विपद्को समयमा हाम्रो भावना र सहयोगको उद्देश्य ठूलो छ । आफ्नो देश अप्ठ्यारो अवस्थामा रहेका बेला भारतीय भूतपूर्व सैनिकहरू पनि एकजुट भएर देशलाई आवश्यक परेको जुनसुकै अवस्थामा सहयोग गर्न तयार छौँ,” अध्यक्ष थापाले अगाडी भने ।
अध्यक्ष थापाले भोटेकोशी बाढीमा ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।
साथै, आगामी दिनमा सरकार तथा नागरिकलाई जुनसुकै प्रकारको विपद् वा अप्ठ्यारो परिस्थिति आइपरे पनि ४/३ गोर्खा राइफल्सका भूतपूर्व सैनिकहरू मानवीय सहयोगका लागि सदैव तत्पर रहने अध्यक्ष थापाले बताए ।
