गोकुल/रञ्जन, पोखरा २५ बैशाख । सरकारले विहिबार देशभर ७२ वटा नगरपालिका थप गरेकोमा पश्चिमाञ्चलमा २० नगरपालिका थपिएका छन् । यससँगै पश्चिमाञ्चलका तीन अञ्चल अन्तर्गत १६ जिल्ला मध्ये १४ जिल्लामा नगरपालिका बनेको छ । विहिबार स्विकृत प्रदान गरिएको ७२ नयाँ नगरपालिकामा हिमाल पारीका जिल्लाहरु मनाङ र मुस्ताङ भने समेटिएन । पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिका रहेको कास्कीमा नगरपालिका थप भएको छैन । मुलुकभर हालसम्म ५८ नगरपालिका रहेकोमा विहिबार सरकारले ७२ नगरपालिकालाई स्वीकृति प्रदान गरेपनि एक सय ३० पुगेको छ ।
यसअघि, नगरपालिका नरहेका तीन जिल्लाहरु लम्जुङ, पर्बत र म्याग्दीमा एक–एक नगरपालिका बन्नेछन् भने तनहूँमा दुई नगरपालिका थप भएका छन् । दुई नगरपालिका रहेको स्याङजामा एउटा थप भएको छ । पाल्पामा अर्को एउटा थपिएको छ । पश्चिमाञ्चलको नवलपरासीमा ५, रुपन्देहीमा ४, कपिलबस्तुमा २, गुल्मीमा एक र अर्घाखाँचीमा एक नगरपालिकाको लागि स्विकृत प्रदान गरिएको छ । नवलपरासीमा सुनवल, कावासोती, देवचुली, बर्दघाट र गैंडाकोट नगरपालिका स्थापना भएको छ । रुपन्देहीमा सैनामैना, देवदह, लुम्बिनी र तिलोत्तमा नगरपालिका, कपिलबस्तुमा कृष्णनगर र शिवराज, गुल्मीमा रेसुंगा तथा अर्घाखाँचीमा सन्धीखर्क नगरपालिका स्थापना हुने भएका छन् ।
लम्जुङमा सदरमुकाम बेशीशहरको नामबाट साविकको बेशीशहर, गाउँशहर, उदीपुर र चण्डिस्थान ४ गाबिसलाई मिलाएर नगरपालिका स्थापना हुने भएको हो । पर्बतमा कुश्मा बजार केन्द्र रहने गरी घोषणा गरिएको कुश्मा नगरपालिकामा खुर्कोट, शिवालय , चुवा, कटुवाचौपारी, दुर्लुङ, पाङ, पिपलटारी र पकुवा गरी ८ गाबिसलाई समेटिएको छ । म्याग्दीमा बेनी नगरपालिकाको घोषणा गरिएकोमा रत्नेचौर, ज्याम्रुङकोट, अर्थुङगे, घतान, पुलाचौर र सिंगा ६ गाविसलाई समेटिएको नगरपालिकाको केन्द्र बेनी बजारमा हुनेछ ।
यसअघि ब्यास नगरपालिका रहेको तनहूँमा शुक्ला गण्डकी र बन्दिपुर नगरपालिका बन्ने भएको छ । दुलेगौंडा केन्द्र रहने गरी खैरेनीटार, दुलेगांैडा, ढोरफिर्दी–३ गाबिस समाबेश गरिएको शुक्ला गण्डकी नगरपालिका स्थापना हुनेछ । बन्दीपुर र धरमपानी २ गाबिस समेटेर बन्दीपुर नगरपालिका बन्ने भएको हो । ब्यास नगरपालिका सहित तनहुँमा नगरपालिकाको संख्या तीन पुगेको छ ।
यसअघि, दुई नगरपालिका रहेको स्याङ्जामा अर्को एउटा नगरपालिका थपिएको छ । चापाकोट, कुवाकोट र रत्नपुर ३ गाबिसलाई समेटेर चापाकोट नगरपालिका बनाउन सरकारले स्विकृति प्रदान गरेको छ । स्याङजामा पुतलीबजार र वालिङ नगरपालिका छन् ।
यसअघि तानसेन नगरपालिका रहेको पाल्पामा रामपुर नगरपालिका बनाईने भएको छ । साविक रामपुर गाबिसको रामपुर बजारमा केन्द्र रहने गरी बन्ने नगरपालिकाले गाडाकोट, दर्छा, रामपुर , खालीवन र गेछा ५ गाबिसलाई समेटिएको छ ।
सरकारले नयाँ नगरपालिका घोषणा गरेपनि मुलुकभरबाट २ सय ८३ गाविस हटेका छन् । देशभरि तीन हजार नौ सय १६ गाविस रहेकोमा अब तीन हजार छ सय ३३ मात्रै रहेका छन् ।
