पोखरा र गौतमबुद्ध विमानस्थलमा साउदी वायुसेवालाई बाटो खुल्यो, द्विपक्षीय हवाई सेवा सम्झौतामा अन्तिम हस्ताक्षर

Share:

पोखरा । नेपाल र साउदी अरबबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा अन्तिम हस्ताक्षर भएको छ। १५ भदौमा सम्पन्न यस सम्झौतासँगै साउदी अरबका वायुसेवा कम्पनीहरूलाई पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन गर्ने कानुनी र संस्थागत बाटो खुला भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा प्रवक्ता जयनारायण आचार्यका अनुसार स्वदेशी वायुसेवासँग पर्याप्त जहाज नभएको अवस्थामा साउदीका जहाजहरूलाई नवनिर्मित दुवै अन्तर्राष्ट्रिय विमानस्थलमा आकर्षित गर्न यो सम्झौताले विशेष सहजीकरण गर्नेछ।

दुई देशबीच पहिलोपटक सन् १९९९ मा प्रारम्भिक हवाई सम्झौता भएको थियो, जसअनुसार दुवैतर्फका वायुसेवाले सातामा ५ हजार ६ सय सिट र वर्षमा २ लाख ९१ हजार २ सय सिट क्षमतामा उडान गर्न पाउने व्यवस्था छ।

हाल साउदीको कुनै पनि वायुसेवाले नेपालमा सिधा उडान भरेका छैनन् भने नेपालबाट हिमालय एयरलाइन्सले काठमाडौं-दम्माम र काठमाडौं-रियाध तथा नेपाल एयरलाइन्सले काठमाडौं-दम्माम रुटमा मात्रै उडान गरिरहेका छन्।

नयाँ सम्झौताले दुई मुलुकबीचको हवाई सम्पर्क विस्तार गर्दै पर्यटन, व्यापार, लगानी प्रवर्द्धनका साथै साउदीमा कार्यरत हजारौं नेपाली कामदार र जनस्तरीय सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक अनुसार नेपालले हालसम्म ४२ देशसँग द्विपक्षीय हवाई सेवा सम्झौता गरिसकेको छ।

अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई आकर्षित गर्ने नीतिकै निरन्तरतास्वरूप यसअघि सन् २०२३ मा रुवान्डा र सन् २०२४ मा स्विट्जरल्यान्डसँग पनि नेपालको हवाई सम्झौता भइसकेको छ।

कमेन्ट गर्नुहोस्
Share: