तीजको खर्च कटाएर धम्पुस पोखरी घोताने चेलीबेटीद्वारा बाढीपीडितलाई एक लाख सहयोग

Share:

पोखरा । धम्पुस पोखरी घोताने चेलीबेटी समाज, पोखराले रसुवाको भोटेकोशी बाढीपीडितका लागि एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।समाजले सङ्कलन गरेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषको आधिकारिक खातामा जम्मा गरेको जनाएको छ।

समाजकी अध्यक्ष मायाकुमारी गुरुङले विपद्को समयमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई सहयोगका लागि हातेमालो गर्न अपिल गरेकी छन्। उनले आपतविपद्को समयमा संसारभर छरिएर रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीले मन फुकाएर सहयोग गर्नुपर्ने बताइन्।

तीज पर्वको अवसरमा हुँदै आएको परम्परागत दर खाने कार्यक्रमको खर्च कटौती गरी समाजले बाढीपीडितका लागि रकम सङ्कलन गरेको हो।

धम्पुस पोखरीकी चेली तिलकुमारी गुरुङले वैदेशिक रोजगारीका क्रममा जापानबाट पठाएको ३० हजार पाँच रुपैयाँसमेत राहत कोषमा जम्मा गरिएको समाजकी विष्णु गुरुङ ‘एकता’ले जानकारी दिइन्।

धम्पुस पोखरी, घलेल, लान्द्रुक, कुदवीडाँडा, बरालडाँडा, घाचोक र लाहाचोकलगायत विभिन्न गाउँका एक सय २० भन्दा बढी चेलीबेटी तीजका अवसरमा एकै ठाउँमा भेला भएका थिए।

उनीहरूले तीजको भोजभतेरमा हुने खर्चलाई बाढीपीडितको राहतमा लगाउने सामूहिक निर्णय गरेका थिए। समाजका सचिव जगन गुरुङका अनुसार तीजको खुसीलाई सामाजिक सेवासँग जोड्दै चेलीबेटीहरूले परोपकारी कार्य गरेका हुन्।

कमेन्ट गर्नुहोस्
Share: