पोखरा महानगरपालिकाद्वारा नगर प्रहरीका विभिन्न पदमा आवेदन आह्वान, २६ असोजसम्म फाराम भर्न सकिने

Share:

पोखरा । पोखरा महानगरपालिकाले नगर प्रहरी सेवाका लागि विभिन्न पदमा दरखास्त आह्वान गरेको छ। महानगरपालिकाको नगर कार्यपालिकाको निर्णय अनुसार प्रतियोगितात्मक परीक्षामार्फत कुल १८ जना नगर प्रहरी पदपूर्ति गर्न लागिएको हो।

जसमा नगर प्रहरी सहायक निरीक्षक (सई) तर्फ ४ जना र नगर प्रहरी जवानतर्फ १४ जनाका लागि आवेदन माग गरिएको छ। इच्छुक तथा योग्य नेपाली नागरिकले २०८३ असोज १२ गतेदेखि असोज २६ गतेसम्म आवेदन दिन सक्नेछन्।

आवेदन फाराम पोखरा महानगरपालिकाको कार्यालयमा रहेको दरखास्त संकलन केन्द्रमा बुझाउनुपर्नेछ। आवश्यक फाराम महानगरको आधिकारिक वेबसाइटबाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ। दरखास्तका साथमा नेपाली नागरिकताको प्रमाणपत्र, न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र, अनुभवको प्रमाणपत्र र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो बुझाउनुपर्नेछ।

म्याद नाघेर आएका वा रीत नपुगेका आवेदनउपर कुनै कारबाही नगरिने महानगरपालिकाले जनाएको छ। थप विस्तृत जानकारीका लागि पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालयमा सम्पर्क गर्न सकिनेछ।

कमेन्ट गर्नुहोस्
Share: