
पोखरा । पोखरामा नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि मंगलबार क्षेत्रीय सभापतिका लागि निर्वाचन हुने भएको छ। भारी वर्षाका कारण पूर्वनिर्धारित तालिका प्रभावित भई असोज १२ गतेका लागि सारिएको यस अधिवेशनमा कास्की क्षेत्र नम्बर १, २ र ३ मा तीव्र प्रतिस्पर्धा हुने देखिएको छ।
क्षेत्र नम्बर १ मा सरोज केसी, ओमप्रकाश गुरुङ र अप्सरा श्रेष्ठबिच प्रतिस्पर्धा हुँदैछ भने वडाध्यक्ष नरेन्द्र थापाले दाबी फिर्ता लिएका छन्। यस क्षेत्रको प्रदेश सभा १ (क) मा थापा निर्विरोध निर्वाचित भइसकेका छन् भने १ (ख) मा यमबहादुर गुरुङ र अर्जुन गुरुङ मैदानमा छन्। त्यसैगरी, क्षेत्र नम्बर २ मा देवकृष्ण पराजुली, देवराज आचार्य, नवीन बराल र सुवास सिग्देलको उम्मेदवारी परेको छ।
सो क्षेत्रको प्रदेश सभा २ (क) मा भोजराज आचार्य र अर्जुन पोख्रेल तथा २ (ख) मा अमृत शर्मा तिमिल्सिना र दिपेन्द्र मर्सानीबिच प्रतिस्पर्धा हुने भएको छ। क्षेत्र नम्बर ३ को सभापतिमा प्रदेश सभा सदस्य प्रकाश बराल र विष्णुबहादुर क्षेत्रीबिच प्रतिस्पर्धा हुँदैछ, जहाँ प्रदेश सभा ३ (क) मा मेखबहादुर तामाङ र शिव तिमिल्सिना तथा ३ (ख) मा विजय गुरुङ र लक्ष्मी पौडेल चुनावी मैदानमा छन्।
यसअघि सम्पन्न स्थानीय तह अधिवेशनमा पोखरा महानगरपालिकाको सभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित भइसकेका छन् भने मादी, अन्नपूर्ण, माछापुच्छ्रे र रुपा गाउँपालिकामा क्रमशः कृष्णचन्द्र बराल, कृष्णप्रसाद सुवेदी, केशवराज अधिकारी र विमलबाबु न्यौपाने सर्वसम्मत चयन भइसकेका छन्।
हाल देशका विभिन्न स्थानमा बाढी-पहिरोका कारण सडक अवरुद्ध भई प्रतिनिधिहरूलाई काठमाडौँ आउन कठिन भएकाले केन्द्रीय महाधिवेशनको मिति ५-६ दिन पछि सार्ने तयारी भइरहेको छ। संस्थापन समूह असोज १९ वा २१ गतेदेखि महाधिवेशन गर्नेबारे छलफलमा रहँदा देउवा समूह भने आगामी मङ्सिर २१/२३ गते महाधिवेशन गर्ने तयारीमा जुटेकाले पार्टीभित्र महाधिवेशनको मितिलाई लिएर विवाद कायम नै छ।
