
पोखरा। नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत कास्की क्षेत्र नम्बर २ को प्रदेश प्रतिनिधिमा युवा नेता गोविन्द नेपाली निर्विरोध निर्वाचित भएका छन्। विद्यार्थी तथा दलित आन्दोलनबाट राजनीतिमा उदाएका नेपाली, नेपाली कांग्रेस कास्कीका जिल्ला सदस्य समेत हुन्।
विद्यालय उमेरदेखि नै नेपाल विद्यार्थी संघ (नेविसंघ) को राजनीतिमा सक्रिय उनी स्वर्गीय दलित अगुवा एवम् नेता भवे सार्कीका जेठा छोरा हुन्। बुबाकै प्रेरणाले बिपी कोइरालाको विचारबाट प्रभावित भई राजनीतिमा होमिएका उनले इमान्दारिताका साथ पार्टीमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
निर्वाचित भएपछि खुसी व्यक्त गर्दै नेता नेपालीले कांग्रेसले यस पटक युवाहरूलाई अवसर दिएर नयाँ ऊर्जा थपेको बताए। “हिजो विद्यार्थी आन्दोलनमा होमिँदा पार्टीको प्रतिनिधि वा नेतृत्व तहमा पुग्न निकै कठिन थियो, अझ समावेशी क्षेत्रबाट आउन झनै गाह्रो थियो,” उनले भने, “तर अब कांग्रेस बदलिएको छ। युवाहरू भविष्यका कर्णधार मात्र नभई वर्तमानका सहयात्री हुन् भन्ने कुरा पार्टीले बुझेको छ।”
नेता गगन थापाले पार्टीमा गरेको आँट र विद्रोहलाई सबैले साथ दिनुपर्ने आजको आवश्यकता रहेको बताउँदै उनले बदलिँदो समाजमा विकासका नयाँ खाका कोर्न युवाहरूको नेतृत्व पंक्तिमा उपस्थिति अपरिहार्य रहेको जोड दिए।
