
पोखरा । पोखरा विश्वविद्यालयको २६औँ साधारण सभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ७५ करोड ८० लाख रुपैयाँको बजेट तथा नीति र कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ।
शिक्षा तथा खेलकुद मन्त्री एवम् विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा कास्कीको पोखरा-३०, ढुंगेपाटनस्थित केन्द्रीय कार्यालयमा बसेको सभाले रजिस्ट्रार प्रा.डा. निर्मला जमरकट्टेलद्वारा प्रस्तुत बजेट र उपकुलपति प्रा.डा. देवेन्द्र अधिकारीले पेस गरेको नीति तथा कार्यक्रम स्वीकृत गरेको हो।
प्रस्तुत नीति तथा कार्यक्रममा विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, अनुसन्धान, नवप्रवर्तन, डिजिटल रूपान्तरण, पूर्वाधार विस्तार र रोजगारमुखी नयाँ शैक्षिक कार्यक्रम सञ्चालनलाई प्राथमिकता दिइएको छ।
सभाले विश्वविद्यालयको विद्यमान नियमावलीमा आवश्यक संशोधन गर्नुका साथै मानविकी तथा सामाजिक शास्त्र संकायलाई पुनर्गठन गरी ‘मानविकी, सामाजिक शास्त्र तथा कानुन संकाय’ स्थापना गर्ने निर्णय गरेको छ।
त्यसैगरी, सम्बन्धनका लागि बाँकी प्रक्रियामा रहेका कलेजहरूबारे गण्डकी प्रदेशलाई प्राथमिकतामा राखी कार्य अघि बढाउन एक वर्षको समयावधि थप गर्ने र आवेदन फिर्ता लिन चाहनेलाई दर्ता शुल्क फिर्ता दिने व्यवस्था गरिएको छ।
ललितपुरको च्यासलस्थित श्रमिक शान्ति क्याम्पसलाई आंगिक क्याम्पसका रूपमा विस्तार गरिएको कार्यलाई अनुमोदन गर्दै सभाले बिइ मेकानिकल, बिआिसिए, बिबिए फाइनान्स लगायतका विभिन्न कार्यक्रमको उपाधि निर्धारण तथा विशेष मौका परीक्षा सञ्चालनको स्वीकृतिसमेत दिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा तथा खेलकुद मन्त्री एवम् सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयहरूले आ-आफ्नो विशिष्टताका आधारमा छुट्टै पहिचान बनाउनुपर्नेमा जोड दिए।
पोखरा विश्वविद्यालयले गण्डकी प्रदेशको सम्भावनाअनुसार साहसिक पर्यटनजस्ता क्षेत्रमा नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउँदै उनले परीक्षा र नतिजा समयमै प्रकाशन गर्न, छात्रवृत्तिमा पारदर्शिता कायम गर्न र शुल्क अनुसार प्रयोगशाला, पुस्तकालय लगायतका शैक्षिक सुविधा सुनिश्चित गर्न विश्वविद्यालय प्रशासनलाई निर्देशन दिए।
