
पोखरा । चाडपर्वको समयमा हुन सक्ने कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि नियन्त्रण गर्दै उपभोक्ताको हकहित संरक्षण गर्ने उद्देश्यले कास्कीको रुपा गाउँपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ।
गाउँपालिका अध्यक्ष नवराज ओझाको संयोजनमा अध्यक्ष ओझा र उपाध्यक्ष लालसुब्बा गुरुङको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी, पत्रकार तथा सुरक्षा निकायका प्रतिनिधिसहितको संयुक्त टोलीले गाउँपालिकाका सातवटै वडाका विभिन्न बजार क्षेत्रमा अनुगमन गरेको हो।
टोलीले वडा नं. १ देखि ७ सम्मका फेदी, रुपाकोट, पिप्ले, देउराली, हंसपुरलगायतका बजार क्षेत्रमा पुगेर व्यवसायको अवस्था र उपभोक्ताले प्राप्त गर्ने सेवा तथा सुविधाबारे अनुगमन गरेको छ।
गाउँपालिका अध्यक्ष ओझाका अनुसार चाडपर्वको मौका छोपेर व्यापारीले कृत्रिम अभाव सिर्जना गर्ने, अत्यधिक मूल्य लिने तथा कालोबजारी गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै अनुगमनलाई कडाइ गरिएको हो।
अनुगमनका क्रममा व्यवसाय दर्ता तथा नवीकरण, राजस्व र कर भुक्तानी, वस्तुको मूल्य, तौल, गुणस्तर, म्याद गुज्रिएका सामान, सरसफाइ, कानुनी कागजात र उपभोक्ता अधिकारलाई मुख्य प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ ।
यसैगरी विद्यालय क्षेत्रभित्र धूमपान तथा मदिराजन्य पदार्थको बिक्रीवितरण र प्रयोग भए नभएको विषयमा समेत अनुगमन गरिएको छ। नियमविपरीतका गतिविधि भेटिएमा आवश्यक कारबाही तथा कानुनी परामर्श दिने व्यवस्था मिलाइएको टोलीले जनाएको छ।
गाउँपालिकाले उपभोक्ताको अधिकार संरक्षण, स्वच्छ बजार प्रवद्र्धन र व्यवसायलाई मर्यादित बनाउन आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ।
चाडपर्वसँगै बढ्यो व्यापार
यसैगरी, चाडपर्व नजिकिँदै गर्दा पोखरा महानगरपालिका-३२, ढोडबेँसीका घरआँगन, बारी र सडकपेटीमा सुकाइएका झिलिङ्गाले स्थानीय क्षेत्रमा छुट्टै रौनक थपेका छन्। परम्परागत स्वाद र संस्कृतिसँग जोडिएको झिलिङ्गा उत्पादनले स्थानीय महिलालाई घरमै बसेर आयआर्जन गर्ने अवसरसमेत प्रदान गरेको छ ।
ढोडबेँसीकी गङ्गाकुमारी श्रेष्ठ विगत १५ वर्षदेखि झिलिङ्गा उत्पादन तथा बिक्रीवितरण गर्दै आएकी छन्। उनले घरमै उद्योग सञ्चालन गरी पोखरा, बुटवल, नारायणगढ, मुग्लिन, दाङलगायतका विभिन्न बजारमा झिलिङ्गा बिक्री गर्दै आएकी हुन्।
स्थानीय तहमा व्यवसाय दर्ता गरेर सञ्चालन गरेको आफ्नो उद्योगबाट घरखर्च चलाउन र जीविकोपार्जन गर्न सहज भएको श्रेष्ठ बताउँछिन्। थोरै लगानीमा घरमै बसेर उत्पादनमूलक व्यवसाय सञ्चालन गर्न सकिने भएकाले यसले परिवारको आर्थिक अवस्थामा समेत सहयोग पुर्याएको उनको भनाइ छ ।
चामलको पिठोबाट तयार गरिने झिलिङ्गा, खिउनीलगायतका परम्परागत परिकार नेपाली मौलिक खानपान र विशेषगरी नेवारी समुदायको सांस्कृतिक पहिचानसँग जोडिएका छन्। चाडपर्वका बेला खाजा, कोसेली तथा उपहारका रूपमा प्रयोग हुने यस्ता परिकारले पुस्तौँदेखि चल्दै आएको परम्परालाई निरन्तरता दिँदै आएका छन्।
चाडपर्वको समयमा झिलिङ्गाको माग बढ्ने भएकाले उत्पादन र बिक्रीवितरणमा समेत चहलपहल बढ्ने गरेको छ। परम्परागत सीप, स्थानीय उत्पादन र मौलिक स्वादलाई व्यावसायिक रूपमा अघि बढाउन सके यसले रोजगारी सिर्जना गर्नुका साथै स्थानीय अर्थतन्त्रमा योगदान पुर्याउन सक्ने देखिन्छ।
प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताले भरिएको पोखरामा झिलिङ्गा सुकाइएका आँगन र बारीले चाडपर्वको रौनक थपेका छन्। स्थानीय उत्पादनलाई ब्रान्डिङ गरी स्वदेश तथा विदेशका बजारसम्म पुर्याउन सके झिलिङ्गा उत्पादन व्यवसाय आयआर्जनको थप सम्भावनायुक्त क्षेत्र बन्न सक्ने श्रेष्ठको विश्वास छ।
