
पोखरा । पोखराका विभिन्न सार्वजनिक स्थलहरूमा सर्वसाधारण तथा पर्यटकहरूलाई तानातान गरी दुःख-हैरानी दिने ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका कार्यालयहरूबाट खटिएको विशेष प्रहरी टोलीले असोज १७ र १८ गते चलाएको ‘स्वीप अप्रेसन’का क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।
कास्की प्रहरीका अनुसार पोखरा महानगरपालिकाअन्तर्गतका मुख्य व्यापारिक तथा पर्यटकीय क्षेत्रहरू पृथ्वीचोक, सभागृहचोक र सृजनाचोक एरियामा सस्तोमा होटल मिलाइदिने बहानामा झोला तान्ने, करकाप गर्ने र सर्वसाधारण तथा पर्यटकलाई अवाञ्छित रूपमा दुःख दिने कार्यमा संलग्न रहेकाले उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका ५ जना व्यक्तिहरूमाथि आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
