
पोखरा। कास्की प्रहरीले आउँदै गरेको चाडपर्वलाई लक्षित गरी चलाएको ‘स्वीप अप्रेसन’का क्रममा पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १५ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी टोलीले पोखरा महानगरपालिकाभित्रका पृथ्वीचोक, सभागृहचोक र सृजनाचोक क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा सर्वसाधारणलाई जबरजस्ती सवारी साधनमा चढाउन खोज्ने तथा होटल मिलाइदिन्छु भन्दै झोला तान्ने ६ जना, अफलाइन पठाओ तथा इनड्राइभ चलाउने ८ जना चालक र १ जना बोलेरो जिप चालक रहेका छन्।
यात्राका क्रममा मानिसहरूलाई करकाप गर्ने, झोला थुत्ने र अनावश्यक हैरानी दिने गतिविधि बढेपछि प्रहरीले विशेष अप्रेसन सञ्चालन गरेको जनाएको छ। नियन्त्रणमा लिइएका सबै १५ जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय बैदाम पठाइएको छ।
