
काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकी नदीमा बाढी आएको छ । बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ भने आरुघाट गाउँपालिकास्थित सोती र मान्बु जोड्ने मोटरेबल पुलसमेत बगाएको छ ।
आइतबार बिहान चुमनुब्री गाउँपालिकास्थित उङ्गेल खोलाबाट आएको बाढीसँगै स्यार खोलामा पहिरो गएको थियो । स्यार खोलामा पहिरोका कारण पानी थुनिएर एक्कासि बाढी आएको र उक्त बाढी बूढीगण्डकी नदीमा मिसिएको प्रारम्भिक विवरण छ ।
चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार बाढीले दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति पुर्याएको छ ।
आइतबार बिहान करिब ४ बजे बाढी ती गाउँमा पसेपछि स्थानीय बासिन्दा ज्यान जोगाउन सुरक्षित स्थानतर्फ भागेका थिए ।
चुमनुब्री गाउँपालिका-३ का बजार क्षेत्रमा पनि बाढीले ठूलो क्षति पुर्याएको उपाध्यक्ष गुरुङले बताइन् ।
