काठमाडौं, पुस ५ – १४ वर्षमुनिको एएफसी छात्रा क्षेत्रीय फुटबल प्रतियोगिताको उपाधिका बंगलादेशले जितेको छ । ललितपुरको लगनखेलमा रहेको नेपाली सेनाको खेल मैदानमा आइतबार भएको खेलमा नेपाललाई १–० ले हराएर बंगलादेशले उपाधि उचालेको हो ।
७० मिनेटको खेलमा बंगलादेशको जितमा १६ औं मिनेटमा मारियाले गरेको गोल नै निर्णायक बन्यो । सात देश सहभागी रहेको प्रतियोगितामा नेपालले भारतलाई तथा बंगलादेशले इरानलाई हराएर फाइनलमा स्थान बनाएका थिए ।
गएको वैशाख १२ गते हुने तय भएको खेल त्यही दिन ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि स्थगित भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले विजेतालाई ट्रफी तथा पुरस्कार प्रदान गर्नुभएको छ । पुरस्कार वितरण तथा समापन समारोहमा खेलकुदमन्त्री सत्यनारायण मण्डलसहित पदाधिकारीको सहभागिता थियो ।
