सरकार असफल पार्ने षड्यन्त्र पुरा हुँदैनः सञ्चार प्रविधि मन्त्री राई

Share:

रञ्जन अधिकारी पोखरा, ६ पुस / सुचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले नेकपा एमाले नेतृत्वको यो सरकारलाई असफल पार्ने षड्यन्त्र सरकार गठनसँगै सुरु भएपनि कुनै हालतमा पुरा नहुने जिकिर गरेका छन् । उनले सरकार कसैसँग नझुक्ने भन्दै गठबन्धनका कारण केहि नमिलेजस्तो देखेपनि राष्ट्र हितका सवालमा सरकार सफल भएरै छाड्ने बताए ।

नेकपा एमाले (कास्की) ले पोखरामा सोमबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टीका पोलिटब्युरो सदस्य समेत रहेका मन्त्री राईले नयाँ संविधान जारी गर्ने बेलादेखि अहिलेसम्म देशी विदेशी तत्वहरुले मुलुकलाई सफल हुन नदिने गतिविधि गरिरहेको उल्लेख गरे । ‘पहिलो संविधानसभा असफल भयो, दोस्रो पनि असफल पार्न सभासद्का घरकोठामा तीन करोड पुगेकै थियो ।’ उनले भने– ‘तर, हामीले कसैको आग्रह मानेनौं । सफल भएर छाड्यौं । यसको कार्यान्वयन गर्ने जिम्मेवारी पनि हाम्रै हो ।’ उनले संविधान जारी गर्नेबेला दुई तिर फर्केका दलहरुसँगको सरकारको गठबन्धले केहि नमिलेजस्तो देखिएपनि मिलाएरै अघि बढ्ने बताए । ‘जे हुनुपर्ने थियो भएन, जे नहुनुपर्ने थियो भयो ।’ राप्रपा नेपालतर्फ संकेत गर्दै उनले भने– ‘भएको सहमति काँग्रेसले लत्यायो । मुलुकको लागि हामी एक ठाउँ उभिनुपर्ने बेला आयो ।’

उनले नेकपा एमालेले तय गरेको जबजको प्रकाश र मार्गदर्शनमै नेपालको राजनीति अघि बढिरहेको दाबी गर्दै देश सम्हाल्ने जिम्मेवारी पनि एमालेकै काँधमा भएको बताए । ‘अहिले जे जस्तो समस्या आईपरेको छ । यो अस्थायी समस्या हो ।’ मन्त्री राईले थपे– ‘वार्ता सम्वादबाटै समस्या समाधान हुन्छ । राष्ट्रियता र स्वाभिमानको सवालमा सरकारले कुनै झुकेर सौदाबाजी गर्दैन ।’ मन्त्री राईले भारतसँगको सन्धी सम्झौता पुनरावलोकन गर्न सरकारले चाहेको भन्दै भारतसँगै अर्को छिमेकी चीन र अन्य मुलुकसँग मुलुकको हितलाई ध्यानमा राखेर व्यापारिक सम्झौता हुने जनाए ।

मधेशमा अहिले चलिरहेको आन्दोलन जनतबाट वहिस्कृत भएकाहरुले गरेको र भारतीय नाकाबन्दी पनि बेतुकको भएको टिप्पणी गर्दै उनले नेपालको संविधान जस्तो लचिलो दुनियाँमा नभएको ठोकुवा गरे । ‘संविधान अग्रगामी छ, प्रगतिशिल छ तर एमालेको आँखाबाट हेर्दा पनि पुर्ण छैन, अन्य पार्टी र समुदायको तर्फबाट हेर्दा पनि छैन ।’ संसदको सुशासन तथा अनुगमन समितिको सभापतिको जिम्मेवारी समेत सम्हालिसकेका उनले भने– ‘त्यसैले संशोधन मार्फत सच्याउँदै जानेका भनेका छौं । केहि तत्वहरु असफल पार्न लागिरहेका छन् ।’

मन्त्री राईले संविधानको गलत व्याख्या गरी धर्म, जात, भुगोललाई खलल पार्ने गरी गतिविधि भईरहेकोमा असन्तुष्टि समेत व्यक्त गरे । उनले एमालेकै कारण मुलुक यो स्थितिमा आएको पनि बताए । अरुले माग गरे भन्दैमा सम्झौताका नाममा मुलुकलाई अफ्ठेरो पार्ने काम एमालेले कुनै हालतमा नगर्ने भन्दै अहिले देश सम्हालिएको, राजनीति ठीक ठाउँमा आउन एमालेको मुख्य भुमिका रहेको दाबी गरे । नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: