
काठमाडौं, ८ पुस-
मङ्गलबार कीर्तिपुरको चाल्नाखेलस्थित एभरेष्ट ग्याँस उद्योगको परिसरमा डिएसपीको पेस्तोल र सञ्चार सेट हराएपछि घटनाको बारेमा छानविन गर्न भन्दै समिति गठन भएको छ ।
एभरेष्ट ग्याँस उद्योगले हिजो ग्याँस बाँड्ने भन्दै नबाँडेपछि आक्रोशित स्थानीय बासिन्दा तोडफोडमा उत्रिएपछि प्रहरीले स्थिती नियन्त्रणमा लिने क्रममा डिएसपी टिका केसीको साथबाट हतियार र सञ्चार सेट हराएको थियो ।
घटनापछि साथमा रहेको हतियारको सुरक्षा गर्न नसकेको भन्दै डिएसपी केसीलाई महानगरिय प्रहरी प्रभागमा तानिएको छ भने घटना छानविन गर्न नेपाल प्रहरीले तीन सदस्यीय समिति गठन गरेको छ ।
महानगरीय प्रहरी आयुक्तको कार्यालयका एआईजी प्रतापसिंह थापाको निर्देशनअनुसार डिआइजी मधु पुडासैनीको नेतृत्वमा गठन भएको छानविन समितिमा एसएसपी सर्वेन्द्र खनाल र एसपी विश्वराज पोख्रेल छन् ।
समितिलाई छानविन गरी प्रतिवेदन बुझाउन एक साताको समय दिइएको छ ।
