अझै टुंगिएन काँग्रेस क्रियाशिल सदस्यता विवाद

Share:

काठमाडौँ, १० पुस-
नेपाली काँग्रेसको आसन्न १३औँ महाधिवेशन नजिकिए पनि अझै क्रियाशील सदस्यता विवाद समाधान हुन सकेको छैन ।

पार्टीले क्रियाशील विवाद समाधानका लागि ‘केन्द्रीय क्रियाशील सदस्यता छानबिन समिति’ गठन गर्नुका साथै त्यस बारेमा केन्द्रीय समितिमा समेत चर्को बहस भएको थियो ।

काँग्रेसमा क्रियाशील सदस्यता विवाद देखिएपछि पार्टीले त्यस बारेमा छानबिन गरी विवाद समाधान गर्न केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा नेता रमेश लेखक र रामकृष्ण यादव सम्मिलित समिति गठन गरेको थियो ।

काँग्रेसको १३ औँ महाधिवेशन आगामी फागुन २० देखि २३ गतेसम्म राजधानीमा हुँदैछ । महाधिवेशनको लागि गाउँ, वडा र नगर अधिवेशन आगामी माघ १५ गते, क्षेत्रीय अधिवेशन माघ २२ गते र माघ २५ गते जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्ने तालिका छ ।

उक्त समितिले प्रतिवेदन तयार गरी यही पुस १ गतेको केन्द्रीय समिति बैठकमा पेस गरेको थियो । बैठकले केन्द्रीय समितिमा उठेका बिचार र सुझावलाई समेत दृष्टिगत गरी तीन दिनभित्र प्रतिवेदन सभापतिलाई बुझाउन र सोहीअनुसार सभापतिले निर्वाचन समितिमा पठाउने निर्णय गरेको थियो ।

तीन दिनको समयाआदेश पाएको छानबिन समितिले काम बाँकी भन्दै अझै प्रतिवेदन बुझाउन नसक्दा थप तीनको समयावधि थपिएको पार्टी कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीले जानकारी दिए ।

काँग्रेसमा क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता फाराम भर्ने क्रममा संस्थापन पक्ष (सभापति सुशील कोइराला पक्ष) र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षबीच आ–आफ्ना पक्षका सदस्यता बढाउने होडबाजी चलेका कारण केही जिल्लामा क्रियाशील सदस्यता विवाद देखिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: