
काठमाण्डौं,२६ पुस।
प्रमुख दल र मधेशी मोर्चाबीच कार्यदल तहमा आईतवार पनि वार्ता हुने भएको छ । सीमांकन विवाद उच्चस्तरीय राजनीतिक समितिले टुंगो लगाउने विषयमा केन्द्रित रहेर आज वार्ता हुनेछ ।
विहीवार प्रमुख तीन दल र मधेसी मोर्चाको कार्यदलबीच सैद्धान्तिक सहमति भए पनि समितिको क्षेत्राधिकारको विषय के हुने भन्ने टुंगो अझै लागेको छैन । हिजो अन्तिम समयमा कांग्रेसका सदस्य नआएकाले वार्ता हुन नसकेको र आज सीमांकनलाई टुङ्ग्याउने संयन्त्रको वैधानिकताका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
सत्ताधारी तथा विपक्षी दल र मधेसी मोर्चाको कार्यदलबीच सीमांकनको विवाद पछि मिलाउने गरी सहमतिको प्रयास अघि बढेको छ ।
उच्चस्तरीय राजनीतिक संयन्त्र मार्फत सीमांकनको विवाद मिलाउने प्रस्तावमा संयन्त्रको वैधानिकतामा प्रश्न उठाउँदै आएको मधेसी मोर्चा पनि प्राविधिक विषय पछि मिलाउन सहमत भएको हो ।
कार्यदलमा सहभागी उपप्रधान तथा रक्षामन्त्री भीम रावलले मोर्चाले उठाउँदै आएका अधिकांश मागहरु संविधान संसोधन प्रस्तावमा समेटिएका कारण सीमांकनको विषय पछि मिलाउनेगरी सहमति हुन लागेको बताए । तराई मधेसमा जनसंख्या र पहाडमा भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने, समानुपाति समावेशी सहभागीता लगायतका विषय संसोधन प्रस्तावमा परिसकेको मन्त्री रावलले बताए ।
