नयाँ दिल्ली, ४ जेष्ठ / भारतीय प्रधानमन्त्री मनमोहन सिंहले दश वर्षको कार्यकालमा आफूले यथासक्य देश सेवा गर्ने प्रयास गरेको बताउनुभएको छ ।
कांग्रेस नेतृत्वको युपिए गठबन्धनको प्रधानमन्त्रीका रुपमा अन्तिम पल्ट राष्ट्रका नाममा सम्बोधन गर्दै सिंहले आफ्नो जीवन र कार्यकाल खुला किताब जस्तो भएको बताउनुभयो ।
आफूलाई जे कुरा पनि देशका कारण प्राप्त भएको भन्दै उहाँले देश विभाजनका कारण घरबार विहिन भएको बालक देशकै कारण उच्च पदमा पुग्न सकेको भन्दै उहाँले यो ऋण आफूले कहिल्यै चुकाउन गर्न नसक्ने बताउनुभयो ।
नयाँ बन्ने सरकारलाई शुभकामना दिंदै प्रधानमन्त्री सिंहले सबै देशवासीले जनादेशको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । दश वर्ष पहिले आफूले जिम्मेवारी सम्हाल्दा पूर्ण मेहनतले काम गर्ने र सत्यको बाटोमा हिंड्ने निश्चय गरेको भन्दै उहाँले आपूmले सधैंभरी सही काम गर्न प्रयास गरेको पनि बताउनुभयो ।
पछिल्लो १० वर्षमा धेरै सफलता र उपलब्धि हासिल गरेको भन्दै प्रधानमन्त्री सिंहले आफूलाई त्यसमाथि गर्व लागेको उल्लेख गर्नुभयो । आज भारत सबै किसिमले दशवर्ष पहिलेको भारत भन्दा धेरै बलियो भएको भन्दै उहाँले देशको सफलताको श्रेय सबै नागरिकलाई दिनुभएको छ ।
हाम्रो देशमा अझै पनि विकासका धेरै सम्भावना रहेकाले तिनको फाईदा उठाउनका लागि सबै एकजुट भएर कडा मेहनत गर्नु जरुरी रहेको प्रधानमन्त्री सिहंको भनाई छ । भारत विश्वको बदलिंदो अर्थव्यवस्थाको एक महत्वपूर्ण शक्तिको रुपमा उदाउनेमा आफू विश्वस्त रहेको भन्दै सिंहले परम्परालाई आधुनिकताका साथ र विविधतालाई एकतासंग मिलाएर भारतले विश्वलाई अगाडीको बाटो देखाउन सक्ने दावी पनि गर्नुभयो ।
– भारतीय सञ्चार माध्यमको सहयोगमा
