तमु सञ्चारकर्मी पत्रकारिता पुरस्कार राजबहादुर गुरुङलाई

Share:

रञ्जन अधिकारी पोखरा, २९ पुस /तमु संचारकर्मी पत्रकारिता पुरस्कारबाट राजबहादुर गुरुङ सम्मानित भएका छन् । तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपाल (एट्जोन), कास्की शाखाले आफ्नो प्रथम वार्षिकोत्सवका अवसरमा गुरुङलाई नगद ११ हजार र कदरपत्रद्वारा सम्मान गरेको हो । प्रमुख अतिथि नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, एट्जोन कास्कीकी अध्यक्ष शान्ति गुरुङलगायतले गुरुङलाई सम्मान गरे ।

अधिवक्ता एवं संस्थाका कानुनी सल्लाहकार जुनाकुमारी गुरुङको संयोजकत्वमा गठित पाँच सदस्यीय छनौट समितिको सिफारिसमा गुरुङलाई सम्मान गरिएको हो । संयोजक गुरुङले कास्कीमा क्रियाशील तमु समुदायका पत्रकारमध्ये लामोसमयदेखि क्रियाशील र उच्च स्थानमा पुगेका गुरुङ पुरस्कारको हकदार रहेको प्रष्ट पारिन् ।

काँग्रेसका उपसभापति पौडेलले दुई दशकदेखि पत्रकारितामा क्रियाशील गुरुङको सम्मानले नयाँ पुस्तालाई प्रेरणा दिने र देशलाई उन्नति प्रगतिमा लैजान सघाउ पुग्ने विश्वास लिएको जनाए । ‘अपार सम्भावना हुँदा हुँदै पनि, प्राकृतिक स्रोत साधन हुँदा हुँदै धनी देशका गरीब जनता हुन बाध्य भएका छौं ।’ पौडेलले भने– ‘नयाँ संविधानले परिवर्तन, अग्रगमनको रेखा बसाएको छ अब यसलाई संस्थागत गर्नुपर्छ । यसमा प्रेस जगतको ठुलो भूमिका हुन्छ ।’

उनले चार नं. प्रदेश हरेक दृष्टिकोणले अगाडि रहेको बताउँदै थपे ‘हाम्रो क्षेत्र चार नं. प्रदेशमा परेको छ । गण्डकी धौलागिरी समेटिएको यो क्षेत्रको दाउन्ने त्रिवेणीसम्मको सिमाना छ । साह्रै राम्रो प्रदेश बनेको छ । यसलाई उन्नति विकास गर्नुपर्छ, यसमा पत्रकारको सहयोगको अपेक्षा गर्दछु ।’

सम्मानित व्यक्तित्व राजबहादुर गुरुङले विगतका योगदानलाई कदर गर्दै यसरी सम्मान गरेकोमा कृतज्ञता व्यक्त गर्दै अब तमु समुदाय पनि पत्रकारिता क्षेत्रमा अघि बढेकोमा सन्तोष व्यक्त गरे । काठमाण्डौंदेखि जनसत्ता साप्ताहिकबाट पत्रकारिता सुरु गरेका गुरुङ सन्ध्याकालिन दैनिक, सगरमाथा टेलिभिजन हुँदै अहिले युनाईटेड दैनिकका प्रकाशक र सम्पादक छन् । गुरुङ प्रेस युनियनका सल्लाहकार, पत्रकार महासंघ कास्कीका सल्लाहकार पनि हुन् ।

पुरस्कार स्थापनाकर्ता एट्जोनका केन्द्रिय कार्यवाहक अध्यक्ष समेत रहेकी हङकङ ब्युटि ईन्स्टिच्युट कलेजकी सञ्चालक सौन्दर्यकर्मी मीना गुरुङले आफ्नो समुदायबाट पनि पत्रकारिता क्षेत्रमा अघि बढ्न हौसला मिलोस् भन्ने हेतुले पुरस्कार प्रदान गर्न अग्रसर भएको जनाईन् । ‘हाम्रा समुदायमा लाहुरे हुने प्रवृत्ति छ । आफ्नै भुमिमा क्रियाशील भएर बुद्धिजीविका रुपमा चिनिन सकोस् भन्ने मेरो चाहना हो ।’ गुरुङले भनिन् ।

कार्यक्रममा नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, फोनिज कास्कीका अध्यक्ष हुम बहादुर गुरुङ, आदिवासी जनजाति महासंघ कास्कीका सचिव पुर्ण ह्योल्मो, तमु सांस्कृतिक प्रतिष्ठानका उपाध्यक्ष हर्क गुरुङ, तमु धिं नेपालकी महासचिव रुद्र कुमारी (मैना) तमु, तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रिय प्रचार सचिव मनोज गुरुङ, तमु प्ये ल्हु संघका अध्यक्ष रुपबहादुर तमु, रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठ, आम मगर सञ्चारकर्मी संघ कास्कीका सचिव रुद्र श्रीष मगरले पनि बोलेका थिए ।

एट्जोन कास्कीका अध्यक्ष शान्ति गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भुपाल गुरुङले स्वागत तथा सचिव देवीजंग गुरुङले सञ्चालन गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: