रञ्जन अधिकारी पोखरा, ५ जेठ / तमुहरुको पुरानो साझा संस्था तमु धिं नेपालको ३० औं वर्ष प्रवेशको अवसरमा सोमबार तमु चलचित्रकर्मीहरु र तमु ट्हो हङकङका सचिव सहित छ जना तमु युवाहरु सम्मानित भएका छन् ।
चलचित्रमार्फत तमु भाषा, भेषभूषा, कला, सँस्कृतिको संरक्षण सम्बद्र्धनमा विशेष योगदान दिएको भन्दै गुरुङ फिल्म एशोसिएसन नेपालका अध्यक्ष बेदबहादुर तमु, संस्थापक अध्यक्ष माओत्से तमु, केशबहादुर तमु, कृष्णकुमार तमु र तमु विद्यार्थी समितिका संस्थापक सचिब एवं तमु ट्हो हङकङका सचिब शशीकुमार तमुलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि तमु धिं नेपालका संरक्षक समाजसेवी क्या. पुर्णबहादुर तमु र तमु धिं नेपालका कार्यवाहक अध्यक्ष कर्णेल रामकाजी तमुले उनीहरुलाई सम्मानपत्र र फेटाले सम्मान गरे ।
कार्यक्रमका प्रमुख अतिथि क्या. पुर्णबहादुर तमुले तमुवान प्राप्तिका लागि सबै तमुहरुको एकता र संघर्ष आवश्यक रहेकोमा जोड दिए । उनले भने ‘परापूर्व कालमा गण्डक क्षेत्र तमुवान थियो । नयाँ बन्ने संविधानले अब तमुवान सुनिश्चित गर्नुपर्छ ।’
तमु धिं स्थापना, वर्तमान र भावी कार्यदिशा विषयक विचार गोष्ठीमा तमु धिं नेपालका सल्लाहकार प्रमुख गणेशबहादुर तमुले तमुहरु फुटेर होईन जुटेर अघि बढ्नुपर्ने बताए । ‘तमु धिंले नै जन्माएको राष्ट्रिय संस्था तमु छोंज धिको काठमाण्डौंमा २०५२ सालमा भएको महाधिवेशनमा केही बेइमानी भयो ।’ उनले भने– ‘तमु धिं नेपाल, तमु बौद्ध सेवा समिति काठमाण्डौं लगायतका संस्थाहरुको असन्तुष्टिसँगै तमुहरुको एकताबद्ध संस्था गठनमा समस्या परिरहेको छ ।’
तमु धिं नेपालका निवर्तमान महासचिव देवीराज तमुले तमु धिं नेपालले तमुहरुको मौलिक कला, भाषा, सँस्कृति र अधिकारका बारेमा युवाहरुलाई सचेतना दिदै पहिचान सहितको तमुवान स्थापनाका लागि जुट्नुपर्नेमा जोड दिए । उनले भने– ‘सकिन्छ सबै तमुहरुको एकतावद्ध संस्था बनाऔं । सकिदैंन गुरुङ राष्ट्रिय परिषदको पुर्नस्थापनाले सार्थकता पाउनुपर्छ ।’
तमु धिं नेपालका बरिष्ठ सल्लाहकार सन्तबहादुर तमुले गुरुङहरुको दुश्मनी अरु कुनैसँग नभई गुरुङसँगै भएको तितो यथार्थ रहेकाले तमु धिं नेपालको स्थापना दिवस कै दिन पोखरामा अर्को संस्थाले कार्यक्रम जुधाउनु राम्रो नभएको भन्दै असन्तुष्टि जनाए ।
तमु धिं नेपालका कार्यबाहक अध्यक्ष कर्णेल रामकाजी तमुको अध्यक्षतामा भएको कार्यक्रममा तमु ट्हो हङकङका सचिव शशीकुमार तमु, जिफानका अध्यक्ष बेदबहादुर तमु(श्याम), तमु धिंका द्धितिय उपाध्यक्ष अधिवत्ता अनिता तमु, प्रचार संयोजक हुमबहादुर तमु, सचिव गिरीप्रसाद तमुले बोलेका थिए । २०४२ साल जेठ ५ गते स्थापना भएको तमु धिं नेपालले ंआफ्नै सभाहलमा आयोजना गरेको कार्यक्रममा तमु विद्यार्थी समितिका कलाकारहरुले साँस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए ।
