
काठमाडौं, २ माघ-
भूकम्प गएको ९ महिनापछि आजदेखि पुननिर्माण महाअभियान सुरु हुँदैछ । अभियानको प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले उपत्यकाका दुई छुट्टाछुट्टै ठाउँबाट उद्घाटन गर्नेछन् ।
विक्रम संवत १९९० साल माघ २ गते गएको भूकम्पको समय पारेर प्रधानमन्त्री ओलीले दिउँसो २ बजेपछि ललितपुरको बुङ्मतीबाट पुनर्निर्माणको काम सुरु गर्नेछन् भने राष्ट्रपतिले गत बैशाख १२ गते भूकम्प गएको समय पारेर ११ बजेर ५६ मिनेटमा काम सुरु गर्नेछिन् ।
आजै नेपालमा भूकम्प सुरक्षा दिवस पनि मनाईंदैछ ।
वैशाख १२ गतेको भूकम्पबाट भत्किएका संरचनाको पुनर्निर्माण तथा नवनिर्माणको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आजदेखि अब आउँदो वैशाख १२ गतेसम्ममा भूकम्प प्रभावित हरेक गाविस र नगरपालिकामा पुनर्निर्माण काम सुरु गरिसक्ने योजना बनाएको छ ।
माघ २० गतेदेखि घर निर्माण सुरु गर्ने लक्ष्यका साथ काम अघि बढाइएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिएका छन् ।
प्राधिकरणले भवन क्षति सर्भेक्षणका लागि आगामी १० दिनभित्र ५ सय जना र एक महिनाभित्रमा एक हजार ५ सय जना इञ्जिनियरलाई गाउँगाउँमा पठाउने तयारी गरेको छ ।
