जनप्रिय उच्च माविको ४८ औं वार्षिकोत्सव, सामुदायिक विद्यालयको गुणस्तर सुधारौंः अधिकारी

Share:

रञ्जन अधिकारी पोखरा, १० माघ / व्यवस्थापिका संसद सदस्य रविन्द्र अधिकारीले सामुदायिक विद्यालयहरुलाई समाजले चासो पुर्वक हेरेकाले सुधारका लागि ढिलाई गर्न नहुने बताएका छन् । अधिकांश सामुदायिक विद्यालयहरुको भौतिक तथा आर्थिक अवस्था मजवुत हुँदा हुँदै पनि शैक्षिक परिणाम खस्केकोमा चिन्ता व्यक्त गर्दै उनले व्यवस्थापन पक्ष सुधार गरे सामुदायिक विद्यालयहरुको स्तर माथि आउने बताए ।

पोखरा ८ सिमलचौर स्थित जनप्रिय उच्च माध्यमिक विद्यालयको आईतबार आयोजित ४८ औं वार्षिकोत्सव, पुरस्कार वितरण एवं अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै अधिकारीले यस्तो बताएका हुन् । यस विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गर्न सांसद विकास कोषबाट १५ लाख समेत छुट्टाएका एमाले युवा नेता अधिकारीले विद्यालय राजनीति मुक्त गर्न पनि आग्रह गरे । संसदको विकास समिति सभापति समेत रहेका अधिकारीले भने– ‘विद्यालयमा पढ्ने हो, राजनीति गर्ने होईन । राजनीति देश बनाउनका लागि हो । बिगार्नका लागि होईन ।’

विशेष अतिथि पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक मित्रनाथ गर्तौलाले विद्यालयको वार्षिकोत्सव कार्यक्रम विद्यार्थी, शिक्षक र विद्यालयका क्रियाकलापहरु शिक्षासँग सरोकार राख्ने पक्ष तथा अभिभावकसँग प्रस्तुत गरिने समारोह भएको बताउँदै यसमा अभिभावकको उपस्थिति रहनुपर्नेमोड दिए । उनले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी चौतर्फी हिसाबमा चलाख हुने भन्दै एसएलसी उत्तीर्ण दर बाहेक प्रतिभाका हिसाबले नीजि विद्यालय भन्दा अगाडि रहेको उल्लेख गरे ।

राजनीतिक दलका तर्फबाट नेपाली काँगेसका सभोयित बहादुर अधिकारी, एमालेका तर्फबाट समाजसेवी समेत रहेका परशुराम बराल, एमाओवादीका तर्फबाट रामजी बराल जीवनले बोलेका थिए । उनीहरुले पाँच दशकअघि स्थापित जनप्रिय क्याम्पसको गुणस्तर वृद्धिका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । यस्तै श्रोतव्यक्ति टोलप्रसाद अर्यालले विद्यालयको शैक्षिक स्तर सुधार गर्न जोड दिए । शिक्षकका तर्फबाट देवी वस्ताकोटी, अभिभावका तर्फबाट होमनाथ सापकोटा र विद्यार्थीका तर्फबाट भावना पट्टेलले बोलेका थिए ।

विद्यालयमा लामो समयसम्म योगदान दिएका विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरुलाई वर्षेनी सम्मान गर्ने क्रममा यसपटक दुई पटक अध्यक्ष बनिसकेका वीरेन्द्रनारायण विजुक्छेलाई सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्व विजुक्छेले जनप्रियलाई आजको अवस्थासम्म ल्याउन अग्रजहरुले महत्वपूर्ण योगदान गरेकाले नयाँ पुस्ताले पनि थप उत्साहका साथ विद्यालयको हितमा काम गर्नुपर्ने बताए ।

यस्तै, वर्ष विद्यार्थीबाट कक्षा दश सेक्शन ख मा अध्ययनरत छात्र मनोज अर्याललाई नगद, दोसल्ला र प्रशंसापत्रबाट प्रमुख अतिथिलगायतले सम्मान गरे । विद्यालय, जिल्ला, क्षेत्र हुँदै राष्ट्रिय स्तरमै वक्तृत्वकला विधामा विजेता बनेका अर्यालले आफु यो स्थानमा रहनुको श्रेय नै विद्यालय, शिक्षक र कर्म दिने स्वामिनारायण मन्दिरका गुरुहरु रहेको बताए । जुनियर रेडक्रस सर्कलका अध्यक्ष समेत रहेका उनले आफुलाई जन्मदिने आमा टाढा भएपनि स्वामिनारायणकै गुरुहरुको कृपाले पोखरामा वसेर शिक्षा लिन पाएको भन्दै आभार व्यक्त गरे ।

उत्कृष्ट अभिभावकबाट तेजबहादुर बिक, कार्यालय सहयोगी तारानाथ आचार्यसँगै शिक्षकहरु डिल्लीराम बराल, करुणा पौडेल, पुष्पा शर्मा, श्रीकान्त पौडेल र पदमप्रसाद दवाडी सम्मानित भए ।

विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रधानाध्यापक बाबुराम पौडेलले प्रस्तुत गरेका थिए । यस्तै लेखा प्रमुख निमराज पौडेलले विद्यालयका आयव्यय प्रस्तुत गरे । कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक ऋषिराम अधिकारीका साथै शुशिल गिरी सञ्जय त्रिपाठी र भावना पट्टेलले गरेका थिए । विद्यालय व्यवस्थापन समिति सदस्य मिन प्रसाद भट्टराईले स्वागत गरेका थिए ।

सो अवसरमा विद्यालयमा स्थापित विभिन्न अक्षयकोषबाट उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिनुका साथै विद्यालयमा शैक्षिक तथा अतिरिक्त क्रियाकलाप, खेलकूद प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । शिक्षक डिल्लीराम बराल सम्पादित विद्यालयको जर्नल समेत विमोचन गरिएको थियो । यस्तै, विद्यार्थीहरुले गीत, नृत्य कविता समेत प्रस्तुत गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: