
माघ १२, काठमाडौं । व्यवस्थापिका–संसद्, विकास समितिको सोमवार बसेको बैठकले सेवा प्रदायक संस्था एनसेलको शेयर बिक्रीका सम्बन्धमा भएको कानूनी समस्याबारे जानकारी गराउन र ती कानूनमा सुधार गर्न सम्बद्ध निकायलाई निर्देशन गरेको छ ।
समितिका सभापति रवीन्द्र अधिकारीको अध्यक्षतामा बसेको सो बैठकले एनसेलको पूँजीगत लाभ नेपालको करको दायराभित्र पर्ने÷नपर्ने, शेयरको हक हस्तान्तरणमा सम्बद्ध संस्थाको पूर्वस्वीकृति लिनुपर्ने÷नपर्ने र वैदेशिक लगानी भनिएको ८० प्रतिशत शेयर तथा स्वदेशी लगानी भनिएको २० प्रतिशत शेयरको मूल्यको फरक दर हुने÷नहँनेबारे समितिलाई सात दिनभित्र लिखित जानकारी गराउन भनेको छ ।
बैठकले शेयर खरीद बिक्रीको पूँजीगत लाभकरमा प्रचलित कानून बमोजिम कार्यान्वयन गराउन, कमजोर नियमनकारी व्यवस्था तथा अपारदर्शी क्रियाकलापलाई तत्काल सम्बोधन गर्न, कानूनी अपर्याप्तता तुरुन्तै संशोधन प्रक्रियामा लैजान तथा शेयर खरीद बिक्रीका सम्बन्धमा सत्य तथ्य बाहिर ल्याउन पनि भनेको छ । ‘व्यावसायिक स्वच्छता, सुशासन एवम् पारदर्शीतासहित कानुनबमोजिम दायित्व पूरा गर्न र प्रभावकारी सेवा दिएर एनसेल–नेपालकै लागि’ भन्ने बनाउन सो संस्थालाई पब्लिक कम्पनी लिमिटेडमा लैजान पनि निर्देशन दिइएको छ ।
बैठकमा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले एनसेलका लगानीकर्ताले आफ्नो शेयर बिक्री गर्ने कुरा सार्वजनिक भए पनि औपचारिक रुपले मन्त्रालयमा कुनै प्रस्ताव नआएको बताए । एनसेलले प्रदान गरेको सेवा प्रभावकारी भएको, संस्थाले वैदेशिक लगानी सुरक्षित छ भन्ने तथ्य स्थापित गरेको, लगानीको पूर्वाधार खडा गरेको कुरामा सरकारको ध्यानाकृष्ट भएको बताउँदै उनले सो विषयलाई कानस्न बमोजिम नियमन गरिनुपर्नेमा जोड दिए ।
नेपाल राष्ट्र बैङ्कका गभर्नर चिरन्जीवी नेपाल र उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले पनि एनसेलको शेयर बिक्रीबारे कुनै पत्र नआएको उल्लेख गरे । रू. १० करोड लगानी गरेको एनसेलले हालसम्म आफ्नो लगानीको पूर्ण विवरण राष्ट्र बैङ्ककमा उपलब्ध नगराएको बैठकमा गभर्नर नेपालले उल्लेख गरे ।
रू. दश करोडको लगानीमा स्थापित एनसेलमा ८० प्रतिशत वैदेशिक र २० प्रतिशत नेपाली कम्पनीको रहेको छ । वैदेशिक लगानीको ८० प्रतिशत शेयर टेलिया सोनेरा भन्ने कम्पनीले एक्जिटा नामक कम्पनीलाई बेच्न लागेको र २० प्रतिशत शेयर लिएका निरन्जनगोविन्द श्रेष्ठले पनि भावनासिंह श्रेष्ठका नाममा सो शेयर बिक्री गर्न लागेको सार्वजनिक भएको थियो । रासस
